एसईई परीक्षाको नतिजा प्रकाशनको तयारीमा परीक्षा बोर्ड

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आगामी यहि साताभित्र प्रकाशन हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले ढिलोमा शुक्रबारसम्म परीक्षाको नतिजा सार्वजनिक गर्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका हुन् ।

बोर्ड अर्न्तगतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले देशभरबाट परीक्षण भएर आएका उत्तरपुस्तिकाको अंक रुजुसहित इन्ट्री गर्ने तथा अंकलाई ग्रेडिङमा रुपान्तरण गर्ने काम अन्तिम चरणमा पुर्याएको जनाइएको छ । काम पूरा हुनसाथ बोर्डको बैठक डोकेर नतिजा सार्वजनिक गरिनेछ ।

गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए । जसमा छात्रा २ लाख ५० हजार ७७२, छात्र २ लाख ५३ हजार ६२७ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७४९ जना प्राविधिक धारतर्फका विद्यार्थी हुन् ।

नयाँ पाठ्यक्रमका आधारमा एसईई परीक्षा सञ्चालन भएकोमा मूल्यांकनसमेत नयाँ लेटरग्रेडिङ पद्दति अनुसार हुनेछ । जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजामा ननग्रेडिङमा पर्नेछन् । दुई विषयसम्म ननग्रेडिङमा परे ग्रेडवृद्धि परीक्षा दिन पाइने र सोभन्दा बढीमा ननग्रेड भए अर्को वर्ष पुनः परीक्षा दिनुपर्ने व्यवस्था छ ।

यसअघि सैद्धान्तिक र प्रयोगात्मकतर्फको प्राप्ताङ्क जोडेर ३५ अंक ल्याए विद्यार्थी ग्रेडसिट प्राप्त गर्थे । अबदेखि सैद्धान्तिक र प्रयोगात्मकको छुट्टाछुट्टै ग्रेडिङ हुने व्यवस्था गरिएको हो । नयाँ पाठ्यक्रमले प्रत्येक विषयमा २५ पूर्णांकको प्रयोगात्मक परीक्षा हुने र बाँकी ७५ पूर्णांकको सैद्धान्तिक परीक्षा हुने व्यवस्था गरेको छ ।

प्रयोगात्मक परीक्षा भने विद्यालयले नै सञ्चालन गरेर प्राप्तांक बोर्डमा पठाएका छन् ।

 

मङ्गलबार, १२ असार, २०८१, दिउँसोको ०२:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page