११ सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरूद्वारा सामूहिक राजीनामा

बेलबारी । बेलबारी नगरपालिकाका ११ सामुदायिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। यो कदम नगरपालिकाको शिक्षा समिति र कार्यपालिकाले गरेको दरबन्दी मिलानको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै चालिएको हो।

काली माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र खड्काले मेयर दिल प्रसाद राईलाई राजीनामा पत्र बुझाउँदै भने, ‘नगरपालिकाको शिक्षा समितिले विद्यालयका व्यवस्थापन समितिसँग कुनै समन्वय नगरी आग्रह र पूर्वाग्रहका साथ शिक्षकको सरुवा गरेको छ।’उनले थपे, ‘नयाँ शैक्षिक सत्र सुरु भएको दुई महिना हुन लाग्दा दरबन्दी मिलान र हटाउने कुरा वैज्ञानिक र ऐन विपरीत छ। हाम्रो कुरा नसुनिएपछि हामी संयुक्त रूपमा राजीनामा दिन बाध्य भयौं।’

विज्ञप्तिमा उल्लेख भए अनुसार, ‘सामुदायिक विद्यालयहरूलाई समाप्त पार्ने उद्देश्यले नगरपालिका शिक्षा समितिले गलत निर्णय लिएको हुँदा यस्तो अवस्थामा समितिमा बस्न नसक्ने ठहर गरी सामूहिक राजीनामा दिइएको छ।’११ विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरूले विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

तर, बेलबारी शिक्षा शाखाकी प्रमुख एलिना बस्नेतले भने,‘नियमले भनेअनुसार मात्र दरबन्दी मिलान गरिएको हो। दरबन्दी मिलानको लागि कार्यदल बनाएर प्रक्रिया अघि बढाइएको थियो। विभागले जारी गरेको परिपत्रअनुसार विद्यार्थी संख्या र स्थलगत निरीक्षणका आधारमा कार्यपालिकामा सिफारिस गरिएको हो।

बेलबारीमा ३१ सामुदायिक विद्यालय रहेका छन्, जसमध्ये ११ विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरूले राजीनामा दिएका छन्।

सोमबार, २८ जेठ, २०८१, रातीको ०८:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर