विराटनगर । आगामी असार १ गते प्रदेशसभामा पेश हुने आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट निर्माणको अन्तिम तयारीमा कोशी प्रदेश सरकार रहेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता खगेन्द्र खड्काले बजेट निर्माणको अन्तिम तयारी भइरहेको जानकारी दिएका छन् ।
‘संघीय सरकारले बजेट ल्याइसकेको छ । बजेटका अनुमानित स्रोतहरुको अनुमान पनि आइसकेको छ,’ खड्काले भने, ‘अब प्रदेशका लाइन मन्त्रालय बजेट सूचना प्रणाली (पिएलएमबिआइएस) मा योजनाहरु समाविष्ट गर्ने काम सुरु हुन्छ ।’
यसपटकको बजेट विगत दुई वर्षको भन्दा सानो आकारको हुने देखिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । संघीय सरकारले राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदानवापत सबै प्रदेशहरुलाई ९६ अर्ब ४५ करोड ८ लाख रुपैयाँ विनियोजन भएकोमा कोशी प्रदेशले १४ अर्ब ५४ करोड २६ लाख रुपैयाँ पाउनेछ । यस्तै वित्तीय समानीकरण अनुदान ८ अर्ब ९६ करोड ३२ लाख रुपैयाँ, शसर्त अनुदान ४ अर्ब १६ करोड ४३ लाख रुपैयाँ, विशेष अनुदान ७८ करोड १ लाख रुपैयाँ र समपूरक अनुदान ६५ करोड ५० लाख रुपैयाँसहित प्रदेशलाई संघीय सरकारले २९ अर्ब १० करोड ५२ लाख रुपैयाँ पठाउने भएको छ ।
प्रदेश सरकारले चालू आर्थिक वर्षमा आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख ५० हजार उठाउने लक्ष्य राखेको छ । तर, लक्ष्य अनुसार राजश्व असुली भएको छैन । आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले सोही अनुसारको राजस्व लक्ष्य राख्दा पनि बजेटको आकार ३३ अर्ब ६८ करोड हाराहारी पुग्ने अनुमान छ ।
प्रदेशको संचित कोषको रकम थप हुँदा र केही घाटा बजेट बनाएमा बजेटको आकार ३५ अर्ब हाराहारीको हुने देखिएको अर्थ मन्त्रालय स्रोतको भनाइ छ । यद्यपी सरकारलाई नयाँ आयोजनामा बजेट राख्न दबाब रहेकोले त्यसको आकार अन्तिम समयमा बढ्ने संभावना पनि देखिएको छ ।
प्रदेश सरकारले हालसम्म ल्याएको सबैभन्दा ठूलो बजेट भनेकै आर्थिक वर्ष २०७६/७७ मा हो । उक्त आर्थिक वर्षमा सरकारले ४२ अर्ब २० करोड ४ लाख रुपैयाँको बजेट ल्याएको थियो । तर, खर्च भने २९ अर्ब ८३ करोड ३२ लाख मात्रै भयो ।
यस्तै आर्थिक वर्ष ०७७/७८ मा प्रदेश सरकारले ४० अर्ब ८९ करोड ९९ लाखको बजेट ल्याउँदा यथार्थ खर्च २७ अर्ब ९५ करोड १२ लाख, २०७८/७९ मा ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याउँदा यथार्थ खर्च २९ अर्ब ९६ करोड ६४ लाख मात्रै भयो । गत आर्थिक वर्षमा प्रदेश सरकारले ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट ल्याएको भएपनि खर्च भने ३० अर्ब ७५ करोड ७७ लाख मात्रै भयो ।
चालू आर्थिक वर्षमा प्रदेश सरकारले ३६ अर्ब ७४ करोड ३५ लाखको बजेट ल्याएको छ । यसको पनि यथार्थ खर्च ३० अर्बभन्दा माथि नजाने प्रदेश लेखा नियन्त्रक कार्यालयको अनुमान छ ।
प्रदेशका अहिलेसम्मका बजेटहरुको यथार्थ आय ३० देखि ३२ अर्ब हाराहारीको मात्रै छ । कोशी प्रदेश सरकारले चालु वर्षमा चालूतर्फ १६ अर्ब ४२ करोड १७ लाख ९ हजार रुपैयाँ, पूँजीगततर्फ २० अर्ब ३८ करोड ५० लाख ८२ हजार र वित्तीय व्यवस्थातर्फ एक करोड रुपैयाँ गरी ३६ अर्ब ८१ करोड ६७ लाख ९१ हजार रुपैयाँ विनियोजन गरेको थियो ।