विराटनगर । कोशी प्रदेशमा असार पहिलोसाताबाट खेलकुदका प्रतियोगिताहरु आयोजना गरिने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले विभिन्न १२ खेलका प्रतियोगिताहरु असार ३ गतेदेखि सञ्चालन गर्न लागेको हो ।
बोर्डले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको कार्यतालिका सार्वजनिक गर्दै प्रतियोगिता हुने स्थानको टुंगो लागिसकेको जानकारी दियो । बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)का अनुसार अधिकांश प्रतियोगिताको मिति र स्थान तय गरिसकिएको छ । केहीको मिति तय हुन बाँकी रहेपनि सबै प्रतियोगिताहरु असार १५ गतेभित्रमा सक्ने योजना रहेको उनले बताए ।
चालु आर्थिक वर्ष २०८०÷०८१ मा प्रदेश खेलकुद विकास बोर्डमार्फत कार्यान्वयन हुने खेलकुद सम्बन्धी कार्यक्रममध्ये अधिकांशको कार्यतालिका र सञ्चालन मिति निर्धारण भइसकेको बस्नेतले बताए । प्रदेशका १४ वटै जिल्लालाई समेटेर प्रतियोगिताहरु आयोजना गरिने जानकारी उनले दिए । केही प्रतियोगिता सञ्चालनका लागि सम्झौता भइसकेको र केही सम्झौताको चरणमा रहेको बस्नेतले बताए ।
उनका अनुसार प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता असार ३ देखि ७ गतेसम्म तेह्रथुममा सञ्चालन गरिने छ । कबड्डी प्रतियोगिता असार ७ देखि १० गतेसम्म मोरङमा, महिला फुटबल असार ८ देखि १३ गतेसम्म खोटाङमा, शरीरिक सुगठन असार १० देखि १२ गतेसम्म झापामा र भारोत्तोलन असार १३ देखि १५ गतेसम्म विराटनगरमा गर्ने तय भएको जानकारी सदस्यसचिव बस्नेतले दिए ।
मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता मोरङमा, प्रदेशस्तरीय पौडी प्रतियोगिता सुनसरी र मोरङमा, महिला ‘सेल्फ डिफेन्स’ (आत्मरक्षा) तथा योगा प्रशिक्षण झापा, मोरङ र सुनसरीका तीनवटा विद्यालयमा तथा प्रदेशस्तरीय कुरास प्रतियोगिता आयोजना गर्ने तय भएको छ । यी प्रतियोगिता सञ्चालन गर्ने मिति छिटै टुंग्याइने बस्नेतले जानकारी दिए । उनका अनुसार फरक क्षमता (अपांगता) भएकाहरुले खेल्ने पारा खेलकुदमध्ये क्रिकेट र पौडी प्रतियोगिता विराटनगरमा तथा बास्केटबल धरानमा गरिने छ । पारा खेलकुद प्रतियोगिता सञ्चालनका लागि सम्झौता भइसकेको र मिति तय हुन बाँकी रहेको उनले बताए । विभिन्न प्रतियोगिता आयोजनाका लागि १ करोड ६ लाख रूपैयाँ बजेट छुट्याइएको जानकारी बस्नेतले दिए ।
त्यस्तै, प्रशिक्षक प्रशिक्षण तालिम मोरङ र तेह्रथुममा आयोजना गरिने छ । तालिम आयोजना हुने मिति तय हुन बाँकी रहेपनि असार १५ भित्रमा सम्पन्न गर्ने उनले जानकारी दिए । तालिमका लागि २० लाख रूपैयाँ बजेट छुट्याइएको छ ।
‘कोशी प्रदेशमा खेलकुदका प्रतियोगितहरु केही समयदेखि रोकिएका थिए । ती सबै प्रतियोगिता असार दोस्रो साताभित्रमा सक्ने गरी तयारी थालिएको छ,’ उनले भने, ‘समयमै सम्पन्न गर्न नसकेका कारण अब ‘फास्ट ट्रयाक’बाट आयोजना गर्नुपर्ने अवस्था आएको छ । हतारहतार नगरे खेलकुदका लागि छुट्याइएको बजेट ‘फ्रिज’ भएर जान्छ ।’
कोशीको खेलकुद क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजाने योजना अनुरूप आगामी नीति तथा कार्यक्रममा महत्वकांक्षी योजनाहरु समेटिएको सदस्यसचिव बस्नेतले बताए ।
खेल क्षेत्रका लागि छुट्याइने आगामी बजेटलाई सही हिसाबले परिचालन गरिने उनको प्रतिबद्धता छ । ‘संस्कृति, प्रकृति र भूगोलका आधारमा हुँदै आएका र लोप हुन लागेका खेलको संरक्षण गर्ने योजना छ,’ बस्नेत भन्छन्, ‘आगामी दिनमा राष्ट्रिय विभूतिका नामबाट समेत खेलकुदको आयोजना गरिने छ ।’ उनका अनुसार बहुवर्षीय योजनाअन्तर्गत मोरङको गोठगाउँमा बहुउद्देश्यीय ‘स्पोर्ट्स कम्प्लेक्स’ निर्माणदेखि मेची स्टेडियम र इटहरी तथा धरानमा फ्लडलाइट जडान गर्ने कार्यलाई अघि बढाउने तयारी छ ।