मिल्स कप क्रिकेट प्रतियोगिता : पटना र कटिहार क्वार्टर फाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टी –२० क्रिकेट प्रतियोगितामा भारत बिहारस्थित पटनाको हाई परफरमेन्स क्रिकेट क्लब र कटिहार क्रिकेट क्लब अन्तिम आठमा पुगेको छ ।

विराटनगर जुटमिलको खेलमैदानमा मङ्गलबार भएको पहिलो खेलमा पटनाले विभागीय टिम नेपाल पुलिस क्लबलाई १२ रनले र कटिहारले सिराहा क्रिकेट क्लबलाई ८ विकेटले परास्त गरी अन्तिम आठमा पुगेको हो ।

टस जितेर ब्याटिङ रोजेको पटनाले १५।५ ओभरमा सबै विकेट गुमाउँदै १०३ रन बनाएको हो । पटनाका सचिन कुमार सिंहले १९ बलमा २६ रन बनाए । उनले २ छक्का र २ चौका हिर्काए । प्रतिकले २२ रन पारी खेल्दा सहिलले अविजित १३ रनको योगदान दिए । पटनाका अन्य ब्याटस्मेनले दोहोरो अङ्क बनाउन सकेनन् ।

पुलिसका सर्वण यादवले कसिलो बलिङ गरे । उनले ३.५ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । रोशन सुवलले ३ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए भने रसिब खानले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

पटनाले दिएको १०४ रनको विजय लक्ष्य पछ्याएको नेपाल पुलिसले १७.३ ओभरमा सबै विकेट गुमाई ९१ रन मात्र बनाउन सक्यो । पुलिसका केशवले २० बलमा १७ रन बनाए । उनले ३ चौका मात्र हिर्काए । एरनले १६ रन बनाउँदा सुबकले ११ रनको योगदान दिए । पुलिसका अन्य ब्याटस्मेनले दोहोरो अङ्क बनाउन सकेनन् ।

पटनाका सकबुल जैनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । सचिन सिंह र हरीले समान २–२ विकेट लिए ।खेलको प्लेयर अफ द म्याच पटनाका सचिन सिंह घोषित भए । उनले नगद ३ हजार रुपैयाँ पाए ।

कटिहारको जित

दोस्रो खेलमा कटिहारले सिराहा क्रिकेट ८ विकेटले हराएको छ । सिराहले १७८ रनको लक्ष्य कटिहारले १४।३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । कटियारको जितको लागि अंकित सिंहले बिस्फोट ब्याटिङ गरे । उनले ४३ बलमा अर्धशतक कटाउँदै अविजित ८० रन बनाए । उनले ४ छक्का र १० चौका हिर्काए । उनी खेलको प्लेयर अफ द म्याच पनि घोषित भए ।

त्यसैगरी असुबले अविजित २४ रन पारी खेल्दा आशिषले ३१ र सुजितले ३० रनको योगदान दिए । सिराहाका विशाल र सोनम रोयले समान १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ थालेको सिराहले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १६७ रन बनाएको थियो । जसमा सिराहाका रुपेशले २० बलमा अविजित ४७ रन बनाए । उनले ३ छक्का र ६ चौका हिर्काए । दिपेश दास र सिराहाका ओपनर सोलन साहले समान ३०–३० रनको योगदान दिए । कटिहारका भानु र प्रनिसले समानले २–२ विकेट लिए ।

बुधबार पहिलो खेल बिसीसीए विराटनगर र प्रशान्त क्रिकेट क्लब जोगबनीबीच हुनेछ । सोही दिन हुने दोस्रो आयोजक मिल्स क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब बीच हुने खेल तालिका रहेको छ

मङ्गलबार, ०१ जेठ, २०८१, साँझको ०५:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर