कृषिलाई व्यावसायिक र आधुनिक बनाउने नीति ल्याउन महासंघको माग

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रदेश सरकारलाई चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमका लागि सुझाव पेस गरेको छ । महासंघले सुझाव मार्फत कृषिलाई व्यावसायिक र आधुनिक बनाउने नीति ल्याउन माग गरेको छ ।

मङ्गलवार प्रदेश सभाको आर्थिक समितिको बैठकमा कृषिलाई व्यावसायिक र आधुनिक बनाउन नीति ल्याउन सुझाव दिएको छ । उच्च शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि विश्वविद्यालय र मेडिकल कलेजको सम्बन्धन लिने व्यवस्था गर्न पनि महासंघले सुझाव दिएको छ ।

योग्य दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षालाई व्यवस्थित गर्नुपर्ने सुझाव दिइएको छ। महासंघले चिया, अलैँची, अदुवा, सुपारी जस्ता उत्पादनको उन्नत प्रशोधन केन्द्र र सूचना केन्द्रको स्थापना गर्न प्रदेश सरकारसँग माग गरेको छ ।

कृषि उत्पादनलाई उद्योगसँग आबद्ध गरी मूल्य अभिवृद्धि हासिल गर्न प्रदेश स्तरीय लगानी फ्रेम वर्क निर्माण गर्न वाणिज्य महासंघले दिएको सुझावमा उल्लेख गरिएको छ ।

मोरङ सुनसरी औद्योगिक कोरिडोरको विकासका लागि सरकारले नीतिगत सुधार गर्नुपर्ने, महिला तथा साना उद्यमीलाई उद्योगको मुख्य प्रवाहमा ल्याउन आवश्यक पहल गर्नुपर्ने महासंघको धारणा रहेको छ। महासंघले पर्यटकीय गन्तव्यहरूको वर्गीकरण तथा प्रवर्द्धनका लागि कार्यक्रम ल्याउन सुझाव दिएको छ ।

महासंघले सार्वजनिक९निजी साझेदारी आयोजनाहरू, कृषि पर्यटन प्रवर्धन तथा व्यापार सन्तुलनमा मन्त्रालयसँग सहकार्य गर्न सुझाव दिएको छ। महासंघले पूर्वाधार विकासका सम्पन्न हुन नसकेका परियोजनाहरू सरकारले केन्द्रसँग समन्वय गरी बनाउन पर्ने बताएको छ।

महासंघले कृषि, उद्योग, पर्यटन, जलविद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रलाई आर्थिक विकासको खम्बा मानेको छ ।

मङ्गलबार, ०१ जेठ, २०८१, साँझको ०५:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर