विराटनगर ।नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कोशी प्रदेश समितिको नेतृत्व चयनमा सहमति नजुट्दा ९१ सदस्यहरु मात्र चयन गर्ने अधिवेशन सकिएको छ ।
विराटनगरमा आइतबार भएको प्रथम अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी चयन हुन नसक्दा ९१ जना सदस्य मात्र चयन भएका छन् । अनेमसंघ प्रदेश अध्यक्षमा दुई जनाको दाबी रहेपछि पदाधिकारी टुंगो नलागेको नेताहरुले बताएका छन् । अनेमसंघ प्रदेशको अध्यक्षमा नेकपा माओवादी केन्द्र प्रदेश सदस्य तथा महिला संगठनको केन्द्रीय सचिवलाय सदस्य रहेका विराटनगरकी लत्ता न्यौपाने र झापाकी निरु खतिवडाले दाबी गरेका छन् । उनीहरुले अन्तिमसम्म अध्यक्षमा दाबी नछोडेपछि नेतृत्व चयन हुन नसकेको हो ।
नेताहरुले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै निर्वाचन गराउन तयार नभएपछि नेतृत्व नै चयन हुन नसकेको हो । बिधान अनुसार अधिवेशनबाट निर्वाचित सदस्यहरुले नै पदाधिकारी चुन्ने भएकोले अबको बैठकबाट टुंगो लगाउने नेताहरुले बताएका छन् ।
एक हप्ताभित्रमा सहमति गर्ने प्रत्यन्त गर्ने र सहमति हुन सकेन भने निर्वाचनबाट नेतृत्व चयन हुने पार्टीका केन्द्रीय सदस्यसमेत रहेकी महिला नेतृ गिता तिम्सिनाले जानकारी दिएकी छन् । अनेमसंघको प्रथम अधिवशेनमा माओवादी केन्द्र प्रदेश इञ्न्चार्ज हरीबोल गजुरेल, पूर्व सभामुख ओनसरी घर्तीमगरलगायतको उपस्थिति रहेको थियो ।