विराटनगर । कोशी प्रदेशका मुख्य न्यायधिवक्ता रुपेश कोइराला बर्खास्त भएका छन् ।
हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कोइरालालाई बर्खास्त गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार २६ वैशाखमा मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले २८ वैशाखमा कोइरालालाई पदमुक्त गर्न सिफारिस गरेका थिए । सिफारिस अनुसार आइतबार प्रदेश प्रमुखले कोइरालालाई पदमुक्त गरेको सूचना निकालेका हुन् ।
कोइरालालाई निवर्तमान मुख्यमन्त्री केदार कार्कीले २०८० पुस २१ गते मुख्य न्यायधिवक्ता नियुक्त गरेका थिए । सामान्यतः सरकार परिवर्तनसँगै मुख्यमन्त्रीको कानुनी सल्लाहकारको भूमिकामा रहने मुख्य न्यायाधीवक्ताले राजीनामा दिने गरेका छन् ।
कोशीमा नयाँ सरकार गठन भइसक्दा पनि कोइरालाले राजीनामा दिएका थिएनन् । बरु उनी उल्टै नयाँ सरकार गठनप प्रक्रियाविरुद्ध आफ्नो पदीय हैसियतै सर्वोच्च अदालतमा बहस गर्न पुगेका थिए । संविधानमै नभएको उपधारा उल्लेख गरेर मुख्यमन्त्रीलाई कानुनी सल्लाह दिएका कोइराला आफ्नो पदमा रहँदा पनि पटक–पटक विवादमा तानिएका थिए ।