विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख ३१ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका छन् ।
प्रदेशसभाका प्रदेशसभा सचिव गोपाल पराजुलीले दिएको जानकारी अनुसार मुख्यमन्त्री कार्कीले उक्त प्रस्ताव दर्ता गराएका हुन् । तीन दिन अगाडि प्रस्ताव दर्ता गर्नुपर्ने प्रचलन अनुसार उनले विश्वासको मतसम्बन्धी प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेशसभाको अधिवेशन सोही प्रयोजन र बजेट छलफलका लागि आव्हान भइसकेको छ । मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीले बुधबार नै शपथ ग्रहण र पदभार ग्रहण गरिसकेका छन् । यस्तै उनले आफ्नो क्याबिनेटमा एमालेबाट रामबहादुर राना र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरिसकेका छन् ।

उता, उनको नियुक्ति प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतमा बुधबार नै रिड दायर गरेका छन् । उक्त रिडमाथि बिहीबार सुनुवाई गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने जनाएको छ । यस्तै पूर्ण सुनुवाईका लागि जेठ ९ गतेको लागि समय तोकिएको छ ।

जेठ ९ गतेभन्दा अगाडि नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएको खण्डमा केदार कार्कीको मुद्दा अझै कमजोर हुने ठानिएको छ ।

शुक्रबार, २८ बैशाख, २०८१, साँझको ०७:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर