केही दिन पार्ने पर्ने सम्भावना

काठमाडौं । स्थानीय र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदलीसँगै पानी पर्ने क्रम सुरु भएको छ । मौसमविदहरुले केही दिन पानी पर्ने सम्भावना औंल्याइरहेका छन् । मौसमविद मीनकुमार अर्यालले अहिले सुरु भएको पानी पर्नेक्रम अरु केही दिन जारी रहने बताएका छन् ।

आइतबार काठमाडौं उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न ठाउँमा पानी परेको थियो । कोशीको इलाम, धनकुटा आदि जिल्लामा बर्षा भएको थियो । सोमबारबाट बर्षा रोकिए पनि पुन वर्षाको सम्भावना रहेको उनले बताए ।

पश्चिमी वायुसँगै भारतको मध्य क्षेत्रबाट न्यूनचापीय प्रणाली विकास भई बंगालको खाडीबाट नेपालमा जलवाष्पयुक्त हावाको प्रवेश भएको र त्यसले केही दिन पानी पार्ने सम्भावना रहेको अर्यालले बताए । ‘देशभरि जसो नै बदलीको अवस्था छ । सोमबार अपराह्नपछि काठमाडौंसहित विभिन्न स्थानमा पानी पर्ने सम्भावना छ,’ उनले भने, ‘पश्चिमी भूभागमा पनि पानी पर्ने सम्भावना छ ।’ मौसमविद् अर्यालले पानी पर्ने क्रम दुई–चार दिन कायम रहने सभ्भावना देखिएको पनि जानकारी दिएका छन् ।

‘कतै पर्ला कतै नपर्ला तर दुई–चार दिन पानी पर्ने सम्भावना छ । भोलि र पर्सी मधेसदेखि पश्चिम बुटवलसम्म प्रभाव पार्ने सम्भावना छ । पहाडी र हिमाली भूभागमा पनि वर्षाको सम्भावना छ,’ उनले भने । पश्चिम तराईका भूभागहरूमा भने पानी पर्ने सम्भावना नरहेको उनले बताए । पूर्वी तराईमा फाट्टफुट्ट वर्षा हुने पूर्वानुमान गरिएको अर्यालले बताए । लामो समय पानी नपर्दा मुलुक डढेलोले आक्रान्त बनेको छ । आइतबार परेको पानीले पूर्वी भेगमा केही राहत भएको छ । शनिबारसम्म २ सय भन्दा बढी वन क्षेत्रमा डढेलो लागेको थियो ।

मङ्गलबार, २५ बैशाख, २०८१, बिहानको १०:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर