विराटनगर । अखिल नेपाल महिला संघ विराटनगर ५ वडा कमिटीले ७० जना ज्येष्ठ आमाहरुलाई सम्मान गरेको छ ।
संघले त्रिमूर्ति चोकस्थित राम मन्दिर परिसरमा ज्येष्ठ आमा सम्मान कार्यक्रमको आयोजना गर्दै वडाभित्रका ८० वर्षमाथिका ७० जना ज्येष्ठ आमाहरुलाई सम्मान गरेको हो । सो क्रममा विराटनगर ५ कै प्रशन्न टोल निवासी १०४ वर्षीया गंगा शर्मासहित अन्यलाई खादा गम्छासहित सम्मान गरिएको थियो ।
त्यस क्रममा ज्येष्ठ नागरिकहरुलाई खीर तथा फलफुल भोजन गराइएको कार्यक्रमकी प्रमुख अतिथि अखिल नेपाल महिला संघ केन्द्रीय कमिटी सदस्य सरस्वती खरेल, नेकपा एमालेका नेता विनोद ढकाल र नेकपा एमालेका महानगर कमिटी अध्यक्ष सागर थापालगायतले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेका थिए ।
आसन्न मातातीर्थ औंसीको अवसर पारेर ज्येष्ठ आमा सम्मान कार्यक्रम गरिएको आयोजक अखिल नेपाल महिला संघ विराटनगर ५ वडा कमिटी अध्यक्ष मैंया निरौलाले जानकारी दिइन् । सो अवसरमा बोल्दध्ै अखिल नेपाल महिला संघकी केन्द्रीय कमिटी सदस्य खरेलले पछिल्लो समय ज्येष्ठ नागरीकहरुलाई आश्रममा राख्ने परिपाटि देखिन थालेको बताइन् । उनले आफ्ना आमाबाबुलाई घरमैं माया तथा सम्मान साथ राख्नुपर्ने बताइन् ।
कार्यक्रममा बोल्दै नेता विनोद ढकालले ज्येष्ठ नागरीकहरुको भरणपोषणको जिम्मा राज्यले लिनुपर्ने बताए । नेकपा एमालेका महानगर अध्यक्ष थापाले नेकपा एमाले ज्येष्ठ नागरीकहरुको सम्मानगर्दै समाज रुपान्तरणको अभियानमा रहेको बताए । उनले बुवा आमा आफैंमा तीर्थ हुने भएकाले उहाँहरुको मनबाट सेवा गर्नेले चारधाम गईरहन नपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्यहरु मिनकुमार आचार्य, नवलप्रसाद उपाध्याय, केदार कार्की, शिवकुमार थापा र रमा रिजाललगायत अखिल नेपाल महिला संघमा आवद्ध क्षेत्रीय तथा वडा कमिटीका पदाधिकारीहरुको सहभागिता थियो ।