तीन वर्षभित्र खोरेत मुक्त प्रदेश बनाउने कृषिमन्त्री खत्रीको घोषणा

६ जिल्लामा पशुसम्बन्धी भेटेरिनरी अस्पताल खोल्ने, विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने कार्यक्रम ल्याउने

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले आगामी ३ वर्षभित्रमा कोशी प्रदेशलाई खोरेत मुक्त प्रदेश बनाउने घोषणा गरेका छन् ।

झापाको भद्रपुरमा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको भवन उद्घाटन समारोहमा मन्त्री खत्रीले यस्तो घोषणा गरेका हुन् । उनले प्रदेशका १४ जिल्लामध्ये ६ जिल्लामा अझै पशु सम्बन्धी भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र नरहेको जानकारी दिए । ती जिल्लाहरुमा भवन निर्माणको लागि आफूले पहल गर्ने उनले बताए ।

त्यसक्रममा उनले कृषि मन्त्रालयले अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै ‘पढ्दै कमाउँदै गर्ने’ कार्यक्रम पनि ल्याउने, घरेलु मदिरा ब्राण्डिङ गर्ने र टुक्रे योजना नल्याउने घोषणा पनि गरे । प्रदेश सरकारले झापाको भद्रपुरमा एक करोड ७१ लाख ८७३ को लगानीमा भवन निर्माण भएको हो ।

पशुमा लाग्ने भाइरसजन्य खोरेत रोगका कारण दूधजन्य वस्तु निर्यातमा अवरोध भइरहेको बेला कोशी प्रदेश सरकारले भने यसको नियन्त्रणको लागि ‘महाअभियान’ संचालन गर्ने तयारी गरेको थियो । सोही योजना अनुसार तीन वर्षमा प्रदेशलाई खोरेत मुक्त गर्ने खत्रीले घोषणा गरेका हुन् । कोशी प्रदेशबाट विश्वका २५ मुलुकमा छुर्पि निर्यात भइरहेको छ ।

युरोपबाट पनि छुर्पिको माग भइरहेको छ । तर, खोरेत नियन्त्रण नभएको कारण ति देशहरुमा छुर्पि निर्यात हुन सकिरहेको छैन । अहिले कोशी प्रदेशका छ जिल्लामा खोरेत रोगको संक्रमण देखिएको छ । जसमा मोरङ, सुनसरी, झापा, उदयपुर, खोटाङ र ओखलढुंगा रहेका छन् । यसबाहेक ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर र सोलुखुम्बुमा पछिल्लो पाँच वर्षयता खोरेतको संक्रमण भेटिएको छैन ।

यस्तै इलाम र संखुवासभामा तीन वर्षदेखि खोरेत संक्रमण नदेखिएको मन्त्री खत्री बताउँछन् । ‘कोशी प्रदेशबाट ७ अर्ब रुपैयाँभन्दा बढीको छुर्पी र ७ अर्ब जतिको चिज विदेश निर्यात भएकोले यो क्षेत्रलाई सुरक्षित गर्नु अनिवार्य देखियो,’ उनले भने, ‘यसले कृषि र पशुपालन क्षेत्रमा धेरै ठूलो क्रान्ति गर्न सकिन्छ ।’ खोरेत नियन्त्रणको लागि संचालन गर्ने तीन वर्षे अभियानका लागि ६० करोड रुपैयाँ लाग्ने कृषि मन्त्रालयले अनुमान गरेको छ ।

सोमबार, ०३ बैशाख, २०८१, रातीको ०९:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर