विराटनगर । मोरङको पथरीशनिश्चरे–७ लामाटोलीमा बस्दै आएकी १५ वर्षीया सन्जना भनिने ज्ञानमति थुलुङ राईको हत्याको घटनामा नयाँ ट्विस्ट आएको छ । ज्ञानमतिको हत्या आरोपमा पक्राउ परेका मोरङको ग्रामथान गाउँपालिका घर भइ बाराको जितपुर सिमरा बस्ने ३८ वर्षीय धिरेनकुमार खाँ चौधरीले अर्कैलाई प्रहार गरेको खुकुरी राईलाई लागेको बयान दिएका छन् ।
खोटाङको ऐँसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी ज्ञानमति पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित दाजु (मामाको छोरा) विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएकी थिइन् । ज्ञानमतिको हत्या भएपछि पक्राउ परेका उनी प्रेमि भनिएका चौधरीले राईको परिवारले विवाह नगरिदिने भएपछि हत्या गरेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको थियो ।
अनुसन्धान गर्दै जाने क्रममा ज्ञानमतिले दाजुभाउजूले कुटपिट गर्ने र विवाहमा अबरोध गरेको गुनासो गरेपछि चौधरीले दाजुभाउजूमध्ये एकको हत्या गर्ने योजना बनाएको पाइएको हो । आइतबार भएको घटना लगत्तै पक्राउ परेका चौधरीले मृतक राईको नभएर उनकी भाउजुको हत्या गर्ने योजना बनाएको बताएको पाइएको प्रहरीले जनाएको छ ।
‘बाराबाट पथरीमा उत्रिएपछि दिउँसो ३ बजेसम्म चौधरी पथरीमा बसेको देखिएको छ । त्यसपछि उनी बिर्तामोड पुगेका छन् । एक दिन बिर्तामोड पुगेर बसेपछि सोमबार दिउँसो ३ बजे पथरी आइएको अनुसन्धानबाट खुलेको छ,’ मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले भने, ‘साझमा दिनभरी पथरीमा बसेर राति कर्तब्य गरेको देखिन्छ ।’ पक्राउ परेका अभियुक्त चौधरीले ज्ञानमतिको दाजु–भाउजु मध्ये एक जनाको हत्या गर्ने योजना बनाएको देखिने प्रहरीको भनाइ छ ।
घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने, ‘भाउजुलाई भनेर सोमबार राति १० बजेर १० मिनेटमा धारिलो हतियार खुकुरी प्रहार गरेको देखिएको छ ।’ हत्यापछि फरार रहेका चौधरीलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट प्रहरीले सोमबार राति पक्राउ गरेको थियो ।
पक्राउ परेपछि मात्र चौधरीले प्रेमिका रहेकी ज्ञानमतिको हत्या भएको जानकारी पाएको अनुसन्धानमा संलग्न प्रहरी स्रोतले जनाएको छ । ‘प्रेमिकाको हत्या भएको खुलेपछि अहिले पश्चताप मान्दै हिरासतमा निरास भएर उ खाली एकहोरो हुने गरेको छ’ एक प्रहरी अधिकृतले भने ।
प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पनि शनिबार बरामद गरेको छ । घटनास्थलदेखि करिब चार मय मिटर पूर्व खोलाको लेदोबाट खुकुरी बरामद गरिएको हो । अभियुक्तले नै खुकुरी फालेको घटनास्थल देखाइदिएका हुन् ।
प्रहरीले चौधरीलाई मंगलबार दोस्रो पटक म्याद थप गर्न मोरङ अदालतमा ल्याउने तयारी गरेको छ । इलाका प्रहरी कार्यालय पथरीले चौधरीलाई कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्दै आएको छ ।
चौधरी र राई ढेड वर्षदेखि प्रेममा रहेको प्रहरीले जनाएको छ । चौधरी विवाहित हुन् । उनकी श्रीमति चार वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेकी छन् ।
श्रीमतिसँग राम्रो सम्बन्ध नभएपछि सामाजिक सञ्जालमार्फत उनको किशोरीसँग चिनजान भएको र नजिकिएको प्रहरीले जनाएको छ ।