विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार परिवर्तनको खेल सुरु भए संसद् नै नटिक्ने चेतावनी दिएपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मध्यावधिमा गएर देखाउन चुनौती दिएका छन् ।
पूर्व मुख्यमन्त्रीसमेत रहेका नेता कार्कीले मध्यावधिमा गए कांग्रेसलाई स्वाहा पारेर आउने चेतावनी पनि दिए । उनले मध्यावधि गराउन मुख्यमन्त्री निर्वाचन आयुक्त नभएको भन्दै कटाक्ष पनि गरेका छन् । ‘उहाँ निर्वाचन आयुक्त, नेपाल सरकार हो भने मध्यावधि गराउँदा भइगयो नि,’ उनले भने ‘काग्रेसलाई स्वाहा पारेर आउँदा चाहिँ थाहा पाउनुहोला ।’ नेकपा एमाले मध्यावधिबाट नडराए बरु मध्यावधिमा जान हुँदैन भनेर प्रयत्न गरेको उनको टिप्पणी थियो ।
‘दुई वर्षसम्म केही गर्न पाइँदैन पनि भन्ने अनि मध्यावधिको कुरा पनि गर्ने ?,’ उनले भने ‘हामी बहुमत सिद्ध गरेर सरकार बनाउँछौं, अरु कुनै परिस्थित बन्दैन ।’
नेता कार्कीले कोशीमा विशेष परिस्थिति छ भनेर गलत प्रचार गरिएको पनि बताए । बहुमत पु¥याएर आएपछि नयाँ सरकार बनाउनका केही परिस्थितिले नछेक्ने उनको भनाइ छ । ‘सर्वाेच्चले नै अर्काे विकल्प रहेसम्म संसद् विघटन गर्न नपाइने फैसला गरेकै छ,’ उनले भने ‘पार्लियामेन्ट विघटनमा जाने भयोभने सर्वाेच्चले निर्णय दिन्छ होला नि त ।’
राजनीतिमा धाक, धम्की र धक्कु लगाउने कुरा नपच्ने उनले बताए । उनले संसदीय दलबाट निर्णय गरेर मध्यावधिको बारेमा बोल्न पनि मुख्यमन्त्रीलाई चुनौती दिएका छन् । ‘कसैले चुनाव गराउँदैमा भइहाल्ने, रोक्दैमा रोकिहाल्ने अवस्था छैन,’ कार्कीले भने । उनले पछिल्लो राजनीतिक शक्ति सन्तुलनमा आएको फेरबदल समय आएपछि कोशीमा पनि हुने र त्यसका लागि आफूहरु नहतारिने प्रतिक्रिया दिए ।