कटहरीको तरकारी बजारमा कोल्डस्टोर बन्दै

विराटनगर । मोरङको कटहरी गाउँपालिका–१ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण हुने भएको छ । दुई महिनाभित्रमा सम्पन्न गर्ने गरी कोल्डस्टोरको काम अगाडि बढेको गाउँपालिकाले जनाएको छ ।

प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना कार्यान्वय एकाइ मोरङ र कटहरी गाउँपालिकाले भ्याटसहित २४ लाख ३२ हजार ४ सय ९ रुपैयाँ लागतमा कोल्डस्टोर निर्माण गर्न लागेका हुन् । कोल्डस्टोर निर्माण गर्नको लागि परियोजना इकाइ र कटहरी गाउँपालिकाबीच बिहीबार सम्झौता भएको छ ।

सम्झौता पत्रमा पहिलो पक्षबाट परियोजना कार्यान्वय इकाइका प्रमुख मनोजकुमार यादव र दोस्रो पक्षको तर्फबाट कटहरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार साहले हस्ताक्षर गरेका छन् । कोल्डस्टोर निर्माणको लागि परियोजनाले ८० प्रतिशत र गाउँपालिकाले २० प्रतिशत लागत व्यहोर्ने सहमति भएको छ । परियोजनाले १९ लाख ४७ हजार ५७ रुपैयाँ र गाउँपालिकाले ४ लाख ८५ हजार ३५२ रुपैयाँ व्यहोर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

कोल्डस्टोर निर्माण भएर संचालनमा आएपछि कृषकको उत्पादन खेर नजाउने कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले बताए । ‘अब कृषकले आफ्नो उत्पादन खेर जाने समस्याबाट मुक्ति पाउँदैछन्’ उनले भने, ‘कोल्ड स्टोर निर्माण भएर संचालनमा आएपछि कृषकको उत्पादन भण्डारणको उचित व्यवस्थापन हुनेछ ।’

परियोजनाले मोरङको कटहरी र जहदाको केही वडालाई समेटेर कृषि जोन क्षेत्र घोषणा गरेको छ । कटहरीको २, ३, ४ र ६, जहदाको ३ र ४ नम्बर वडालाई समेटेर ८ सय हेक्टर जग्गामा तरकारी जोन घोषणा गरेर व्यवसायीक रुपमा तरकारी हुँदै आएको छ । उक्त जोनबाट उत्पादन भएको वस्तु विक्री वितरण गर्नको लागि कोल्डस्टोर निर्माणको लागि परियोजनाले गत मंसिर १३ गते सूचना जारी गरेको थियो ।

कटहरीको फलफूल तथा तरकारी थोक बजारभित्र उपयुक्त भएपछि त्रिपक्षीय सम्झौता गरिएको इकाइ प्रमुख मनोज कुमार यादवले बताए । १५ मेक्ट्रिक टन क्षमताको कोल्डस्टोरमा ५ मेक्ट्रिक टन क्षमताका तीन वटा कोठा हुनेछन् ।

प्रविधिमा आधारित कोल्डस्टोर कृषक र व्यवसायिक प्रयोजनको लागि भाडामा लगाइनेछ । कृषकहरूले कृषिजन्य उत्पादन एक हप्तासम्म भण्डारण गर्दा भने शुल्क नलाग्ने गाउँपालिकाले जनाएको छ । त्यसपछि भने तोकिएको शुल्क लाग्नेछ । व्यवसायीहरुको सामाग्रीहरु भण्डारण गर्दा नियमानुसार शुल्क लाग्नेछ ।

कृषक र व्यवसायिक प्रयोजनको लागि कोल्डस्टोरको माग बढदै गएमा थप विस्तार गरिने गाउँपालिकाले जनाएको छ ।

बिहिबार, १७ फागुन, २०८०, साँझको ०६:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर