विराटनगर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिने भएका छन् । प्रदेशसभामा तेस्रो पटक विश्वासको मत लिने भएका हुन् ।
मुख्यमन्त्री यादव विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो २ बजे प्रदेशसभा बैठक डाकिएको छ ।
जसपा संसदीय दलका नेता यादव सुरुमा नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर सत्ता गठबन्धन परिवर्तन भएर एमाले सरकार छाडेपछि कांग्रेस सरकारमा सहभागी भएको थियो । एमाले सरकार छाडेपछि मुख्यमन्त्री यादव दोस्रो पटक विश्वासको मत लिएका थिए ।
आज उनी तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । जनमत पार्टीलेसरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीलाई फिर्ता बोलाएपछि उनले पुनः विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।
पहिलो र दोस्रो पटक पुरा सदनले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थियो । कांग्रेस र एमाले प्रतिपक्षमा रहेका बेला पनि उनी विश्वासको मत पाएका थिए ।
मधेश प्रदेशमा १०७ सांसद छन् । मुख्यमन्त्री यादवको कार्यशैलीले सत्ता गठबन्धनकै दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एसका सांसदहरू असन्तुष्ट छन् । तर गठबन्धनका केन्द्रीय नेताहरूको दबाबमा मुख्यमन्त्री यादवलाई सत्तारुढ सबै दलले विश्वासको मत दिने बुझिएको छ ।