विराटनगर । सुनसरी र धनकुटा प्रहरीले पछिल्लो समय गाँजा नियन्त्रण अभियान तीब्र बनाएका छन् । पहाडि जिल्ला उदयपुर, भोजपुर, खोटाङ, धनकुटा, संखुवासभालगायतका जिल्लामा उत्पादित गाँजा सुनसरी, मोरङ र झापा हुँदै भारत तस्करी हुने गरेको छ । पछिल्लो पटक प्रहरीले सुनसरी र धनकुटाबाट ठूलो परिणाममा गाँजा नियन्त्रणमा लियो ।
प्रहरीले गत फागुन २ गते धनकुटाको भेडेटारबाट डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङकरमा लोड गरेको पाँच सय ९४ किलो गाँजा बरामद गर्यो । गाँजासँगै प्रहरीले गाँजासहित चार जनालाई पनि पक्राउ गर्यो । प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चौकमा मुलघाटबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७३२२ नम्बरको ट्याङकरमा गाँजा बरामद गरेको हो । ट्याङकरको तेल लगाउने डिब्बाभित्र गाँजा राखेको अवस्थामा थियो । प्रहरीले गाँजा ओसार–पसारमा संलग्न भारत अररियाका ४४ वर्षीय नईम खान, सह–चालक एमडि अफ्रोज, ट्याङकरमा सवार ७० वर्षीय लखन महत्तो र मोरङ रंगेलीका वर्षीय गयानन्द मण्डललाई पक्राउ गरेको छ ।
धनकुटाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार उक्त ट्याङ्कर कसको हो भन्ने आधिकारिक खुल्न बाँकी छ । तर, पेट्रोलियम डिलर एसोसिएसनका मानिसहरू ट्याङ्कर छुटाउनुपर्ने भन्दै धनकुटाको प्रहरीसमक्ष डेलिगेसन गएका थिए । रोचक पक्ष के छ भने विराटनगरबाट सप्तरी पेट्रोलियम पदार्थ बोकेर गएको ट्याङ्कर इन्धन खन्याएर गाँजा लिन सिधै धनकुटा पुगेको थियो । ‘सप्तरीतिर पेट्रोल पुर्याएर फर्केको ट्याङ्कर गाँजा लिनकै लागि धनकुटा आएको भने पुष्टि भयो,’ कोइरालाले भने, ‘साहुलाई ट्याङ्कर बिग्रिएर बनाउँदै गरेको भन्ने जानकारी दिएर चालकले धनुकटा लिएर आएको थाहा भयो । ट्याक्टरका साहुले भोलीपल्ट बिहान साहुले फोन गर्दा हामीले चालकलाई नै पक्राउ परिसकेका थिए । यो घटनाले साहु नै संलग्न भन्ने बुझिँदैन । चालक, सहचालकहरूको भने प्रत्यक्ष संलग्नता देखिन्छ ।’

योसँगै असोजयता मात्रै धनकुटाबाट ६ सय ५१ केजी बरामद भएको छ । अगाडि पनि विभिन्न विकल्प प्रयोग गरेर गाँजा तस्करी हुने गरेको थियो । प्रहरीले चेकजाँचमा कडाई गरेपछि भने विकल्पको खोजी गर्दै ट्याङ्करसमेत प्रयोग गरेको कोइराला बताउँछन् । ‘बरामद गाँजा कहाँ उत्पादन भएको भन्ने कुरा खुलेको छैन । तर, पक्राउ परेकाहरुले रातको समयमा हामीलाई नै थाहा छैन भन्ने कुरा भनेका छन्,’ कोइरालाले भने ।
उता, गत पुस २३ गते भारत तस्करी हुन लागेको झण्डै ३ सय किलो गाँजा सुनसरी प्रहरीले बरामद गरेको थियो । ८ वटा बोरामा रहेको गाँजासहित प्रहरीले त्यसबेला पनि भारतीय नागरिक अरविन्द कुमार र सुनसरीको कोशी गाउँपालिका ५ का महोमद सागर मियाँलाई पक्राउ परेको थियो । उनीहरुले उक्त गाँजा को २ त ६८९० नम्बरको ट्याक्टरमा लोड गरेर भारत लैजान लागेका थिए । सुनसरी प्रहरीका अनुसार भोजपुरबाट सप्तकोशी हुँदै ल्याएको गाँजा कोशी गाउँपालिका ६ कोशी कटान भन्ने ठाउँबाट ट्याक्टरको मुनिपट्टि गाँजा र माथि बालुवा भोरेर भारत लान लागेका थिए ।
यस्तै प्रहरीले फागुन १ गते सुनसरी बराहक्षेत्रनगरपालिका–९ राजाबास स्थित दाहसंस्कार गर्ने घाटनजिक कोशी किनारमा लुकाएको अवस्थामा १३ थान बोरामा जम्मा ४०६ किलो ९४० ग्राम गाँजा बरामद गरेको थियो । उक्त गाँजा प्रदेश ०१–०२–००१ ज ४०५० नम्बरको बोलेरो लोड गरि राखिएको थियो । प्रहरीले उक्त काममा संलग्न रहेको भन्दै धरान–४ का सूर्य राई र भोजपुर हतुवागढी–८ का लक्ष्मण राईलाई पक्राउ गरेको थियो ।
सुनसरी प्रहरी प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार असोजदेखि यता सुनसरी प्रहरीले ६० जना मानिस र १६ सय ९८ किलो ३४६ ग्राम गाँजा बरामद गरेको छ । यस्तै १६ वटा सवारी साधन पनि प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ६० जनामध्ये २१ जना भारतीय रहेका छन् । नियन्त्रणमा लिएका १६ सवारी साधनमध्ये २ वटा भारतीय कार, २ वटा स्कारपियो र २ वटा टाटासुमो रहेको छ । नेपालका सवारी साधन भने १० वटा छन् ।
प्रहरी स्रोतले दिएको जानकारी अनुसार गाँजा उत्पादन भइरहेकै स्थानमा तस्करहरुले प्रतिकिलो ३ हजारदेखि ४ हजारसम्ममा खरिद गर्छन् । उक्त गाँजा धरानको चतरासम्म ल्याइपुर्याउँदा प्रतिकेजी ५ हजरदेखि ६ हजारसम्म पर्ने गरेको र नेपालको सीमा क्षेत्रमा प्रतिकिलो अन्दाजी १० हजार रुपैयाँसम्ममा विक्री हुने गरेको प्रहरी स्रोतको दाबी छ । यस्तै भारतमा भने नेपालको गाँजा प्रतिकिलो १५ हजार रुपैयाँभन्दा माथि मूल्यमा खरिद विक्री हुने गरेको छ ।

