लोड हुँदैछ...

मेनु

मोरङको बुढिगंगामा बोक्सिको आरोप लगाउँदै मलमूत्र खुवाइयो,एक जना झाँक्री पक्राउ

मोरङको बुढिगंगामा बोक्सिको आरोप लगाउँदै मलमूत्र खुवाइयो,एक जना झाँक्री पक्राउ

विराटनगर ।मोरङको बूढीगंगामा बोक्सीको आरोप लगाउँदै एक जना महिलामाथि कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका–७ की ५० वर्षीय पारो माझीलाई पक्राउ पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ५५ वर्षीय महिलालाई कुटपिट गर्दै र यातना दिँदै मानव मलमूत्र (दिसा–पिसाब) खुवाएर अमानवीय व्यवहार गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । बिहीबार दिउँसो २ बजेतिरको घटनाका बारेमा प्रहरीले साँझ मात्रै जानकारी पाएको थियो ।

पक्राउ परेकी माझीले गाउँघरमा धामी झाँक्रीको काम गर्दै आएको पाइएको उनको भनाइ छ । प्रहरीका अनुसार धामी झाँक्री भएर झारफुकको काम गर्ने माझीको घरमा लगाइएको अष्टम पूजामा प्रयोग गरिएको दियो हराएको थियो । पूजाको दियो चोरी गरेको आरोप उनले पीडितलाई लगाएको प्रहरीको भनाइ छ । पूजाको दियो हराएपछि चोरी गरेको भनेर बोक्सीको आरोप लगाउँदै उनले महिलालाई कुटपिट गरेर यातना दिँदै मलमूत्र खुवाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी दाहालले बताए ।

उनका अनुसार जोखाना हेर्दा र तान्त्रिक विधिबाट ध्यान गर्दा दियो चोरेको थाहा भएकाले बोक्सीलाई गर्ने कारबाही गरेको माझीले प्रहरीसमक्ष स्वीकार गरेकी छन् । ‘यस्तो काम बोक्सीबाहेक अरूले गर्नै सक्दैन । दियो चोरेर मेरो घरमा लगाएको पूजा भाँड्ने काम गरियो,’ उनले भने । माझीले लछारपछार पारेर हातले कुटपिट गर्दै विभिन्न हिसाबबाट यातना दिएर पीडितलाई मलमूत्र खुवाएको जानकारी दाहालले दिए ।

त्यस क्रममा पीडितले आफू बोक्सी नभएको र आफूले दियोसमेत नचोरेको भन्दै यातना नदिन र मलमूत्र नखुवाउन पटक पटक आग्रह गरेको प्रहरीको भनाइ छ । तर, माझीले भने आफ्नो घरमा लगाएको पूजामा बोक्सी प्रवेश गरेर दियो चोरेको भन्दै अमानवीय व्यवहार गरेकी थिइन् ।

धामी झाँक्रीको काम गर्दै आएकी माझीलाई पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरिएको दाहालको भनाइ छ । उनी विरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । अनुसन्धानका लागि अदालतबाट शुक्रवार म्याद थप गरिने डिएसपी दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।