विराटनगर । संयुक्त राष्ट्र संघको कार्यप्रणालीका बारेमा युवाहरुलाई जानकारी दिने उद्देश्यले कोशी प्रदेशमा नमूना संयुक्त राष्ट्रिय संघको सम्मेलन आयोजना हुने भएको छ ।

‘पूर्वाञ्चल युनाइटेड नेसन्स सिमुलेशन’ले यस्तो सम्मेलन आयोजना गर्न लागेको हो । कार्यक्रम वैचारिक युवा समाज र अमेरिकी दुतावासको आयोजनामा हुन लागेको हो । कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्ला तथा भागका विद्यार्थी र युवाहरुलाई सहभागी गराइने आयोजकले जनाएको छ ।

कार्यक्रममा संयुक्त राष्ट्र संघको कार्यप्रणाली र विश्वव्यापी मुद्दा तथा घटनाहरुको बारेमा छलफल चलाइने छ । सम्मेलनलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक फोरमको रुपमा अगाडि बढाइने बताइएको छ ।

युवा विद्यार्थीहरुमा अनुसंधान, नेतृत्व विकास, कूटनीतिक बहस, लेखन र विशेष गरी बौद्धिक विश्लेषण जस्ता सीप वृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । यसले युवा तथा विद्यार्थीहरुलाई विश्व सचेत नागरिक बन्न सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।
नेपालमा पहिलो पटक सन् २०१४ मा वैचारिक युवा समाजले विश्वविद्यालयस्तरको अन्तर्राष्ट्रिय मोडल संयुक्त राष्ट्र संघ एभरेष्ट इन्टरनेशनल मोडल युनाइटेड नेसन्सबाट यात्रा आरम्भ गरेको जनाइएको छ । सन् २०१६ देखि संस्थाले नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

विराटनगरमा फागुन १० गतेदेखि आयोजना हुने सम्मेलन रोड टु (इआइएमयुएन) अभियान अन्तरगत प्रदेशस्तरीय सम्मेलनमध्ये भएको बताइएको छ । सम्मेलन तीन दिनसम्म आयोजना हुनेछ । सम्मेलनमा सहभागी हुनका लागि आवेदन खुला गरिएको र युथ थिंकर्स सोसाइटी र एभरेष्ट इन्टरनेशनल मोडल युनाइटेड नेसन्स्को सामाजिक सञ्जाल मार्फत पाउन सकिने बताइएको छ ।