विराटनगर । समयमा निर्माण कार्य सम्पन्न नगरी लामो समय सम्पर्कविहीन भएको एउटा निर्माण कम्पनीको १६ करोड रुपैयाँ धरौटी जफत भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई मोरङले बैंक ग्यारेन्टी मार्फत राखिएको धरौटी जफत गरेको हो ।
समयसीमाभित्र निमार्णको काम पूरा नगरी निर्माण कार्य अलपत्र पारेर सम्र्पकवीहिन भएको निमार्ण कम्पनी भूमि–बि.आई.पि.एल.कन्ट्रक्सनको बैंक ग्यारेन्टी र पर्फमेन्स ग्यारेन्टी बापतको १६ करोड ८३ लाख ६६ हजार ५०० रुपैयाँ उक्त कार्यालयले जफत गरेको हो ।
विराटनगरस्थित कोशी अस्पतालको भवन निमार्णको काम बिचमै छोडेर भूमि–बि.आई.पि.एल. कन्ट्रक्सन लामो समयदेखि सम्पर्कविहीन थियो ।
विराटनगरको रमन–भूमि, बि.आई. पि.एल., जेभीले संयुक्त रुपमा कोशी अस्पतालको सुविधा सम्पन्न पाँच तलाको भवन निमार्ण गर्ने ठेक्का पाएको थियो । अस्पतालमा निमार्णधीन भवनको सम्झौता अवधि एक महिना अघिनै सकिएको छ । तर यस अवधिमा (३० महिनामा) करिव ३० प्रतिशत मात्र निमार्ण कार्य सम्पन्न भएको छ । अहिलेसम्म फाउण्डेसनसम्मको काम मात्र सकिएको र पहिलो पटक म्याद थप गर्ने तयारी निर्माण कम्पनीले गरिरहेको छ ।
कोशीको भवन निर्माणको सम्झौता २२ पुसमा सकिएको थियो । सम्झौता अवधि सकिएपछि पनि निमार्णको काम आधा पनि नसकि अलपत्र छोडेर सम्र्पकविहीन भएको निर्माण कम्पनीले राखेको ६ करोड ५५ लाख रुपैयाँ बैंक ग्यारेन्टी १८ माघ जफत गरेको थियो । एक हप्ता अगाडि आयोजना इकाइले पर्फमेन्स ग्यारेन्टी (पीबि) १० करोड २८ लाख ६६ हजार ५०० रुपैयाँ पनि जफत गरेको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई मोरङका सूचना अधिकारी अशोक रामले जानकारी दिए । ‘सम्झौता गरेको समयसीमाभित्र निमार्ण कम्पनीले काम नसकेपछि बैंक ग्यारेन्टी र पर्पmमेन्स ग्यारेन्टी जफत गरिएको हो,’ सूचना अधिकारी रामले भने, ‘अहिले जेबी मध्येकै रमण कन्ट्रक्सनले निमार्णको काम गर्दै आएको छ ।’
निर्माणको काम बीचैमा छोडेर भूमि कन्ट्रक्सन सम्पर्कविहीन भयो । ठेकेदारले सम्झौताअनुसार काम नगरेको, लिखित, मौखिक ताकेता गर्दा बेवास्ता गरेकापछि बैंक ग्यारेन्टी र पफमेन्स ग्यारेन्टी जफत गरिएको हो । काम अलपत्र परेपछि आयोजनाले पटक–पटक पत्र पठाएर काम थाल्न अनुरोध गरे पनि बेवास्ता गरेपछि ठेक्का रद्ध गरेर कारवाहीको तयारी गर्ने भएपछि जेबी मध्येका रमणले पछिल्लो समय काम सुुरू गरेको छ । अहिलेसम्म ३० देखि ३५ प्रतिशत मात्र काम पूरा भएको इन्जिनियरसमेत रहेका सूचना अधिकारी रामले बताए । ‘भूमि–बि.आई.पि.एल. कन्ट्रक्सन सम्र्पकविहीन भएपछि केही महिना अगाडिबाट रमण कन्ट्रक्सनले काम सुरु गरेको छ,’ उनले भने, ‘अहिले निमार्णको काम भइरहेको छ ।’
पहिलो पटक म्याद थपको तयारी
रमणले काम सुरु गरेपछि परियोजना इकाइले पहिलो पटक म्याद थप गर्ने प्रक्रिया अगाडि बढाएको छ । कोशी अस्पतालको नयाँ भवन निर्माणको लागि इकाईले ५० करोड ३४ लाख ४४ हजार ७१४ रुपैयाँमा टेण्डर खुलाएको थियो । रमन भूमि, बि.आई. पि.एल. जेभीले ३३ करोड २२ लाख ४८ हजार ९११ रुपैयाँ ३३ पैसामा ठेक्का लिएको थियो ।
उक्त जेभीले ठेक्का पाएपछि वि.सं. २०७८ असार २३ गते संघीय आयोजना कार्यान्वयन इकाईसँग सम्झौता गरको थियो । सम्झौतालगतै २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ल्याएर अस्पताल भवनको शिलन्यास गरिएको थियो ।
कोशी अस्पताल हातामा निर्माण भइरहेको अत्याधुनिक सुविधा सम्पन्न पाँच तले भवन निर्माणको काममा ठेकेदारहरुबीचको विवादले पनि ढिलाइ भएको हो ।
आरम्भमा कृष्ण बोहरा संचालक रहेको भूमि कन्ट्रक्सनले निमार्णको काम सुरु गरेको थियो । निमार्ण सुरु गरेको केही दिनपछि भूमिले करिब पाँच महिना निमार्णको काम रोकेको थियो । त्यसपछि ठेकेदार बोहरा सम्र्पकविहीन भए । अहिले पवनकुमार महतो संचालक रहेको भूमि कन्ट्रक्सनका पार्टनर रमणले निमार्णको काम सुरु गरेको छ । लामो समयसम्म निमार्णको काम रोकिएको र निमार्ण सम्पन्न नभएपछि पहिलो पटक म्याद थप गर्ने तयारी गरिएको सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइका प्रमुख सुरेन्द्रकुमार साहले बताए । ‘निमार्ण कम्पनीले म्याद थपको लागि समयसीमा माग गर्ने तयारी गर्दैछ,’ उनले भने, ‘म्याद सकिने अगाडि पहिलो पटक म्याद थप गरिनेछ ।’
ठेकेदार कम्पनीले घाटा हुने भन्दै काममा ढिलासुस्ती गरेको बुझिएको छ । टेन्डर आव्हान गरेको भन्दा १७ करोड कम लागतमा ठेक्का पारेको सो जेबीले घाटा लाग्ने भन्दै काम गर्न ढिलासुस्ती गरेको निर्माण व्यवसायीहरुले बताउँछन् ।निर्माण कम्पनीले हालसम्म ६ करोड रुपैयाँ भन्दा बढी रकम भुक्तानी लिइसकेको छ । भूमि र बिआइपीएलले ५ करोड ६९ लाख ४४ हजार ८९३ रुपैयाँ ४७ पैसा र रमणले ८९ लाख ५५ हजार ७७५ रुपैयाँ भुक्तानी लिएको छ । निर्माण गरे अनुसारको उनीहरुले भुक्तानी लिएको हो ।
कस्तो बन्नेछ नयाँ भवन ?
चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउण्ड भवनको भुइँतलामा पार्किङ्ग हुने स्टिमेटमा उल्लेख गरिएको छ । दोस्रो तलामा एचडियूसहितको डाइलाइसिसलगायतका सेवाहरू हुनेछ । यस्तै, तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तलामा ५० शय्याको हुनेछ । यसैगरी चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तलामा ५० शय्याको हुनेछ । पहिलो चरणमा पाँच तलाको भवन बन्नेछ । त्यसपछि योजना अनुसार तला थप हुँदै जानेछ । मास्टर प्लानअनुसार ७ तलाको बनाउने भवनको लागत स्टिमेटमा पाँचौ तलामा ५२ शय्याको जनरल वार्ड र छैटौ तलामा हेल्थ अफ डिपार्टमेन्ट बनाउने उल्लेख गरिएको छ । हाल ३५० शय्याको अस्पताल रहेको कोशीको सुविधासम्पन्न भवन बनेपछि ५०० शय्या पु¥याउने तयारी गरिएको छ ।