काठमाडौंं । बालुवाटार जग्गा प्रकरणमा गैरकानूनी लाभ लिएको ठहर गर्दै विशेष अदालतले भाट भटेनीका सञ्चलक मीनबहादुर गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको छ ।

अनधिकृत मोही खडा गरी सरकारी जग्गा सट्टाभर्ना गर्ने गराउने कार्यमा मुख्य मतियारको भूमिका खेलेको भन्दै गुरुङसहित रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई समान सजाय तोकिएको हो ।

विशेष अदालतले बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा नेपाल सरकारको भएको ठहर गरेको छ । चार वर्षअघि दायर मुद्दामा बिहीबार विशेष अदालतले फैसला सुनाएको हो । २३ दिनसम्म निरन्तर सुनुवाइपछि अदालतले फैसला सुनाएको हो ।

अदालतले सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी र पूर्वसचिव दिनेशहरि अधिकारीलाई सफाइ दिएको छ । पूर्व सचिवहरु दीप बस्न्यात, छविराज पन्त भने दोषी ठहर भएका छन् । ११० जनालाई बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाइ २०७६ माघ २२ गते विशेष अदालतमा अभियोग दायर गरेको थियो ।

यो जग्गा प्रकरणमा किर्ते मुद्दा काठमाडौं जिल्ला अदालतमा पनि विचाराधीन छ ।