काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने बिचौलिया र सरकारी कर्मचारीसहितलाई दोषी ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातसहित दोषी ठहर भएका छन् । विशेष अदालतबाट त्यस्तै पूर्व मन्त्री तथा तत्कालीन भौतिक पुर्वाधार मन्त्रालयका सचिव छविराज पन्त पनि दोषी ठहर भएका छन् ।

जग्गा व्यक्तिको नाममा ल्याउन भूमिका खेल्ने बिचौलिया रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित कर्मचारीहरु पनि दोषी ठहर भएका हुन् । विशेष अदालतले सुवर्ण शमशेरका परिवारलाई पनि दोषी ठहर गरेको छ । मन्त्रिपरिषद्को निर्णयको आवरणमा सरकारी जग्गा व्यक्तिको नाममा लैजाने कर्मचारीसहित सुवर्ण शमशेरको परिवारलाई पनि दोषी ठहर गरेको हो ।

अदालतले सुरुमा उक्त जग्गा व्यक्तिको नाममा लैजाने भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकामध्ये हेमाद्रीशमशेर राणालाई भने सफाइ दिएको छ । अदालतले कल्पना तुलाधरसहित बालुवाटारको जग्गा आफ्नो नाममा पार्ने ६५ जनाको जग्गा जफत हुने फैसला सुनाएको छ ।

विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आज यस्तो फैसला सुनाएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकामध्ये ६५ जनासँग जग्गा जफत गर्न माग गरेको थियो ।

अख्तियारले बाँकी ११० जनाविरुद्ध भ्रष्टाचारको कसुर, बिगो र सजायको मागदाबी गरेको थियो । सो प्रकरणमा मन्त्रीदेखि, कर्मचारी, तिनका आफन्त र बिचौलियाविरुद्ध आरोपपत्र दायर गरिएको थियो ।