विराटनगर । सात महिनाको अवधिमा मोरङ जिल्लाबाट जन्मका आधारमा नागरिकता पाएका सन्तानहरु १२ हजार ६४२ जनाले वंशजको नागरिकता पाएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले दिएको जानकारी अनुसार गत असार ११ गतेदेखि फागुन १ गतेसम्ममा उक्त संख्यामा नागरिकता वितरण भएको हो । जसमा जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगरबाट ८ हजार ९७४, इलाका प्रशासन कार्यालय रंगेलीबाट ३ हजार १९९ र इलाका प्रशासन कार्यालय उर्लाबारीबाट ४६९ जना जन्मका आधारमा नागरिकता पाएका सन्तानहरुले वंशजको आधारमा नागरिकता पाएका छन् । यस्तै हालसम्म एनआरएन नागरिकता पाउनेको संख्या मोरङबाट ४३ जना रहेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङमा यसअघि जस्तो नागरिकता लिनेको भीड पनि देखिएको छैन । ‘उर्लाबारी प्रशासन कार्यालयमा त जन्मका आधारमा नागरिकता लिएकाको सन्तानलाई नागरिकता दिने प्रक्रिया सकिसकेको छ । रंगेली र विराटनगरमा छिटफुट आइरहेका छन् । पहिले जस्तो भीडभाड छैन,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने ।
३ हजार बढीले नागरिता लिनै नपाउने
यस्तै नागरिकता पाउने उमेर भए पनि कानुनी प्रावधानका कारण नागरिकता लिनबाट बञ्चित हुनेको संख्या मोरङमा ३ हजार भन्दा बढी रहेको भट्टराईले बताए । ‘जन्मसिद्धका छोराछोरीले नागरिकता पाउँदा बुबा र आमा दुवैको नागरिकता हुनुपर्ने प्रावधान राखिएको कारण उनीहरुले नागरिकता पाउन सकेका छैनन्,’ भट्टराईले भने, ‘कतिको बाबु मात्रै छ । कतिको आमा मात्रै छन् । त्यस्तो संख्या ३ हजार भन्दा बढी छ ।’ कानुन अनुसार वंशजको आधारमा आमा र बुबाको नागरिकता भए निःशर्त नागरिकता पाउँछन् । तर, जन्मसिद्धका सन्तानका लागि भने आमा र बुबा दुवै जनाको नागरिकता हुनुपर्ने कानुनी व्यवस्था भएको कारण नागरिकता वितरण गर्न नसकिएको उनले बताए ।
नेपालको संविधान २०७२ को धारा ११ को उपधारा (३) मा जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानले नागरिकता पाउने विषय उल्लेख छ । ‘यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ,’ संविधानको उक्त उपधारामा उल्लेख छ । यस्तै नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ को दफा २ को उपदफा (२) मा पनि संविधानमा रहेकै प्रावधान राखिएको छ । ‘२०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछ भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ,’ उक्त ऐनमा उल्लेख छ । यही प्रावधानले जन्मको आधारमा नागरिकता पाएका तर दुवै दम्पत्तीको नभएको अवस्थामा उनीहरुको सन्तानले तत्काल नागरिकता नपाउने भएका हुन् ।

























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।