विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र ग्यालेक्सी टेलिभिजनका सञ्चालक जीबी राईमाथि सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले क वर्गका २० बैंकहरुलाई पत्र लेखेर लामिछाने र राईको नाममा भएका बैंक खाताको विवरणसहित कारोबारको विवरण विभागमा बुझाउन भनेको हो ।
विभागले गत माघ ८ गते नै यस्तो पत्र पठाएको पाइएको छ । पत्रमा लामिछाने र राईको खातासहित कारोबार विवरण उपलब्ध गराइदिन भनेको हो । सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूर जाँचबुझको सिलसिलामा आवश्यक परेको हुँदा दुबैको नाममा कुनै किसिमको खाता छ वा छैन ? भएमा खाताको प्रकार, कारोबार र अन्य विवरणसहित खाता संचालनका लागि आवश्यक कागजपत्र समेत उपलब्ध विभागले भनेको छ।
देशभर सहकारीको नेटवर्क खडा गरेर ठगी गरेका राई फरार छन् । उनले लामिछानेसँग मिलेर गोर्खा मिडिया नेटवर्क प्रालि (ग्यालेक्सी टिभी) खोलेका थिए । टिभीमा राई अध्यक्ष थिए भने लामिछाने सञ्चालकसहित प्रवन्ध निर्देशक दिए । राई आबद्ध भएका सहकारीबाट गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्कमा रकम लगानी भएको र त्यसमा लामिछाने पनि मुछिएको विवरण सार्वजनिक भइसकेको छ ।
विभागले सम्पत्ति शुद्धीकरणको आशंकामा लामिछाने र राई बिरुद्ध अनुसन्धान सुरु गरेको हो । यसका लागि विभागले अनुसन्धान अधिकृत तोकेको बताइएको छ । विभागले विवरण उपलब्ध भएपछि थप अनुसन्धान गर्नेछ ।
सहकारी घोटालासम्बन्धी प्रकरण्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पनि अनुसन्धान गरिरहेको छ ।


