शैक्षिक संस्थाहरुमा चन्दा आतंक मच्याउनेहरु दल छाडेका तथा अयोग्य लडाकु

विराटनगर । शैक्षिक संस्थाहरुमा धम्कीसहित चन्दा आतंक मच्याउने समूहका दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । झापा, मोरङ र सुनसरीमा रहेको शैक्षिक संस्थामा चन्दा आतंक सृजना गर्नेहरु विष्फोटक पदार्थसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा इलामको माङसेवुङ गाउँपालिका १ गजुरमुखी घर भई काठमाडौंस्थित भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको याङ्वरक गाउँपालिका १ का ३० वर्षीय विपिन अधिकारी छन् । मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार पक्राउ परेकाको साथबाट शैक्षिक संस्थामा चन्दा माग्न लेखिएको पत्र, नगदी रसिद र लेटरप्याट पनि बरामद भएको छ ।

मोरङ प्रहरीले उनीहरुलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ । उनीहरुले भूमिगत संगठनको नाममा महासचिव महाविरको दस्तखत भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) लेखिएको लेटरप्याड प्रयोग गरि चन्दा माग गर्ने र नदिए विस्फोटक पदार्थ राखेर आतंक सृजना गर्ने गरको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

मंगलबार बिहान विराटनगर–३ मा भेटिएको शंकास्पद वस्तु उनीहरुले नै राखेको प्रहरीले जनाएको छ । नेपाली सेनाको टोलीले ‘डिस्पोज’ गरेको शंकास्पद बस्तु कुकर बम भएको पुष्टि भएको छ । घरेलु तथा साना उद्योग कार्यालयबाट २ सय मिटर पश्चिममा आँपको रुख रहेको चउरमा सोमबार साँझ २ लिटरको प्रेसर कुकरमा टेपले बाँधेर बिजुलीको तार जडान गरी राखिएको शंकास्पद वस्तु फेला परेको थियो । घटनास्थललाई रातभर प्रहरीले सुरक्षा दिएर राखेको थियो ।

नेपाली सेनासँगको समन्वयमा मंगलबार बिहान १०ः४३ बजेतिर त्यसलाई डिस्पोज गरिएको थियो । निस्कृय बनाउने क्रममा शंकास्पद वस्तु प्रेसर कुकर बम रहेको पुष्टि भएको हो । कुकरमा ३ वटा डेटोनेटरसमेत जडान गरेर बम तयार गरिएको पाइएको सैनिक स्रोतले बताएको छ । डेटोनेटर जडान गरिएको कुकरभित्र साबुनको डल्ला र ढुंगा फेला परेको छ ।

स्रोतका अनुसार डेटोनेटरले कुकरलाई विष्फोट गराउन मद्दत गर्छ भने साबुनले बारुद (जिलेटिन)को काम गर्छ । डेटोनेटर र साबुनको मिश्रणले ठूलो आवाज र धमकासहित कुकरलाई विष्फोट गराउँछ र त्यहाँ राखिएको ढुंगाले वरपर क्षति पु¥याउँछ । बम निष्कृय पारिएकोले कुनै क्षति हुन नपाएको सुरक्षा स्रोतले बताएको छ ।

बम राख्ने समूहकै खोजीको क्रममा मिश्र र अधिकारी पक्राउ परेका हुन् । प्रहरीले उनीहरुको साथबाट विस्फोटक पदार्थ बनाउने सामग्री ७ वटा डेटोनेटर, १८ फिट तीन इन्च लम्बाइको तार, एक केजी सोडा पनि बरामद गरेको छ ।

चन्दा नदिए ध्वांसात्मक कार्यसमेत गर्ने धम्की दिएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको एसपी पोखरेलले बताए । ‘चन्दा नदिने शैक्षिक संस्था अगाडि बिस्फोट गराउने उनीहरुको उद्देश्य थियो । त्यो हामीले पुरा हुन दिएनौं’ एसपी पोखरेलले भने, ‘बेलैमा सूचना पाएपछि उनीहरुलाई नियन्त्रणमा लिन सफल भएका छौं ।’

पक्राउ परका दुबै जनाविरुद्ध विष्फोटक पदार्थ ऐनअन्तर्गत मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ । मिश्र र अधिकारी आपराधिक पृष्ठभूमिका व्यक्तिहरू रहेको प्रहरीको भनाइ छ । मिश्रविरुद्ध झापामा २०७६ सालमा विष्फोटक पदार्थ सम्बन्धी ४ वटा मुद्दा चलेको थियो भने अधिकारीविरुद्ध पाँचथरमा २०७६ मा अभद्र व्यवहार मुद्दा चलेको प्रहरीले जनाएको छ ।
‘दुवै जना आपराधिक पृष्ठभूमिका व्यक्तिहरू हुन्,’ एसपी पोखरेलले भने, ‘पछिल्लो समय नयाँ भूमिगत संगठनमा आवद्ध भएर चन्दा आतंक मच्चाइरहेको पाइएको छ ।’ पक्राउ परेका प्रतिवादीहरुले चन्दा नदिए बम विष्फोट गराउने धम्कीसमेत दिने गरेको पाइएको छ । सोमबार दिउँसोतिर बिस्फोटक पदार्थ जस्तो वस्तुहरु कुनै निकायमा राख्ने प्रयोजनले ओसारपसार भएको सूचना प्राप्त भएपछि प्रहरीले निगरानी बढाएको थियो ।

चन्दाका लागि टार्गेट हुनसक्ने संस्थाहरुसँग सम्पर्क गर्दा सीसीटीभी फुटेजहरुबाट प्रमाण संकलन गरेर प्रहरीले विपिन अधिकारीलाई सुरुमा विराटनगर पक्राउ गरेको थियो । त्यसपछि प्रविणलाई बुढीगंगाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिस्फोटक पदार्थहरु सम्भावित ठाउँमा राखेर तर्साउने र चन्दा संकलन गर्ने उदेश्य देखिएको प्रहरीले जनाएको छ । प्रहरीले संवेदनशिलत भएर परिचालन भएका कारण उनीहरुको योजना विफल पारेको एसपी पोखरेलले बताए । पक्राउ परेका व्यक्तिहरु विगतमा उनीहरु नेकपा माओवादी (विप्लव), नेकपा माओवादी बैद्य र केही व्यक्ति नेकपा माओवादी (बहुमत) भन्नेसँग आवद्ध देखिएको प्रहरीले जनाएको छ ।
उनीहरुले एक वर्षयता नेकपा (माओवादी) मा महाविरको नेतृत्वको नयाँ संगठन विस्तार गर्न खोजेको देखिएको एसपी पोखरेलले बताए । महाधिवेशनका लागि ३५ सदस्यीय केन्द्रीय समिति तयार भएको देखिएको उनले बताए । यो समूहको कनेक्सनबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

गत भदौमा खडा गरिएको यो समूहमा अन्य दल छाडेका तथा अयोग्य लडाकुसमेत समेटेको प्रहरीको सुचनामा छ । प्रहरीका अनुसार यो समूहले यसअघि झापा र सुनसरीका केही निजी विद्यालयमा चन्दा उठाइसकेको छ । विद्यालयको स्तर र हैसियत हेरेर चन्दा माग गर्ने गरिएको प्रहरीको भनाइ छ । अरु व्याक्तिको बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार, ०२ फागुन, २०८०, बिहानको ०७:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर