विराटनगर । नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा क्लिनस्विप गरेको छ । सोमबार भएको तेस्रो खेलमा क्यानाडाविरुद्ध ९ विकेटको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको हो ।
क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालको जितमा भीम सार्की र अनिल शाहले कीर्तिमानी साझेदारी गरे । दुबैले शतक प्रहार गरे । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई भीम र अनिलले जितसम्म डोहोर्याए ।
अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । कुशल भुर्तेलले १३ रनको योगदान दिएका थिए । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको थियो ।
क्यानडाका लागि नभनीत धलिवालले अर्धशतक प्रहार गरेका थिए । आरोन जोनसन ४, श्रीमन्था विजयरत्न २२, निकोलस किर्तोन ३ रन, श्रेयस मोभा २९, डिलोन हेलिगर ४ र निखिल दत्त ४५ रन बनाएर आउट हुँदा कप्तान साद बिन जाफर २९ रनमा अविजित रहे ।
बलिङमा नेपालका डेब्यु खेल खेलेका हेमन्त धामीले सर्वाधिक ३ विकेट लिदा कुशल मल्लले २, आकाश चन्द र ललित राजवंशीले १–१ विकेट लिएका थिए । नेपालले पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो ।
तेस्रो ओडीआई खेलमा नेपालका अनिलकुमार साह १२४ बलमा १२ चौका र २ छक्कासहित ११२ रनमा नटआउट रहेर रेकर्ड नै राखे । नेपालको सहज जितमा भने तीन दुर्लभ कीर्तिमान बनेका छन् ।
नेपालबाट सिनियर क्रिकेटमा कुनै पनि खेलमा पहिलो पटक एकै इनिङमा दुई शतक बनेका छन् । सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेलेको नेपालबाट कुनैपनि खेलमा एकै इनिङमा दुई शतक बनेको थिएन ।
यू–१९ क्रिकेटमा भने आईसीसी यू–१९ विश्वकप २०२३ मा युएईको आजमानमा कुवेतविरुद्ध देव खनाल १२५ र अर्जुन कुमालले १०८ रन बनाएका थिए ।
यस्तै नेपाललाई सहज जित दिलाउन अनिल र भीमले १८९ रनको अविजित साझेदारी गरे । ओडीआईमा नेपालबाट कुनै पनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि २०२३ जुनमा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए । त्यो नै उच्च साझेदारी थियो ।
नेपालले तीन खेलको ओडीआई सिरिजमा पहिलो पटक क्लिनस्वीप गरेको हो । यसअघि नेपालले तीन खेलको सिरिज दुबईमा २०१९ र २०२२ मा टियुमा युएईविरुद्ध समान २–१ ले जितेको थियो ।
दुई खेलको सिरिज भने नेपालले २०२१ मा पपुवा न्युगिनीविरुद्ध ओमानमा क्लिनस्विप गरेको थियो ।