विराटनगर । सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालयले कार्यालयमा बिचौलियालाई प्रवेशमा रोक लगाएको प्रचार गरेपनि बिचौलियाको सहयोगविना सेवा पाउन सेवाग्राहीलाई समस्या रहेको पाइएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले आइतबार गरेको छड्के अनुगमनका क्रममा कार्यालयमा विचौलियाको मनपरी रहेको गुनासो सेवाग्राहीले गरेका हुन् ।

मन्त्री राई यातायातको ट्रायल सेन्टरमा सेवाग्राहीको रूपमा पुगेका थिए । मास्क लगाएर पुगेका उनले केही व्यक्तिहरुसँग कुराकानीसमेत गरे । झण्डा नभएको गाडीमा चढेर मन्त्री सेवाग्राहीको पुग्दा बिचौलियामार्फत कार्यालयमा आर्थिक चलखेल हुने गरेको खुलेको हो ।

सुन्दरहरैचाको दुलारीमा रहेको ट्रायल सेन्टरमा मन्त्री राई पुग्दा टेम्पो र सिटिसफारीको ट्रायल भइरहेको थियो । मन्त्रीको साथमा पुग्दा धनकुटाका एक सेवाग्राहीले सिटी सफारी कुदाएको ८ वर्ष भएपनि ट्रायल पास नगरेपछि कति पैसा लाग्छ भनेर सोधीखोजी गरेका थिए । ४ हजारदेखि १७ हजारसम्म लाग्ने गरेको उनले जवाफ पाए ।

आफैं पास गरेपनि सामान्य मिस्टेक भयो भने ५ हजारसम्म बिचौलियाले लिने गरेको उनले सुनाए । आफू सफारी कुदाउने गरेको भन्दै उनले अर्का एक व्यक्तिलाई भेटाइदिएका थिए । ति व्यक्तिले एकान्तमा लगेर ट्रायल पास गर्ने दररेट सुनाए । फुलरेट २२ हजार रुपैयाँसम्म रहेछ । उकालो ओरालो मिस्टेक भए ५ हजार, घुमाउनेमा बिग्रिए ५ हजार र अन्यको ७ देखि १० हजारसम्मको लिने ती व्यक्तिले बताए ।

आफ्नो ट्रायल सेन्टर नभएको बताएका उनले आफूलाई दैनिक यतै भेटिने बताए । तर, परिचय दिन मानेनन् । ‘कार्यालय प्रमुख परिवर्तन भएर आएपछि कडा गर्न थालिहाल्छन्’ उनले भने, ‘माल (रकम) मिलाएपछि हाकिमहरूले पनि कडा गर्दैनन् ।’

इटहरी २ का केशब बस्नेतले ट्रायलमा दुःख दिने गरेको मन्त्रीसहितको टिमलाई सुनाएका थिए । ‘एउटा ट्राफिकले पास भयो भन्छ, अर्काे ट्राफिकले फेल भयो भन्छ’ उनले भने, ‘दुईचार हजार दियो भने त्यो सबै मिलेको बुझियो ।’ म पास फेल के भएँ भनेर सोध्दा अहिले जानुहोस् भनेको उनको भनाइ छ ।

मन्त्री राई अनुगमन गर्ने क्रममा हाफ भेष्ट, हाफ ज्याकेट कालो चस्मा र मास्क लगाएर यातायातका कर्मचारी तथा ट्राफिक बस्ने छेउमै गएर उभिएका थिए । केहीबेर उभिएपछि मन्त्री राईलाई त्यहाँ खटिएका कर्मचारी र ट्राफिक प्रहरीले हट्न भने । अटेर गरेर बसेपछि प्रहरीले यहाँ बस्न पाइँदैन भनेर धकेल्ने प्रयास गर्दा मात्र मन्त्रीले मास्क खोलेका थिए । ‘तपाईं को हो, किन यहाँ उभिरहनुभएको ? कसले उभिन भन्यो ? उता जानुहोस्’ यातायात व्यवस्था कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईंले चर्को स्वरमा भनेका थिए ।

मास्क खोलेर परिचय दिएपछि कर्मचारी र प्रहरी अक्क न बक्क बनेका थिए । त्यसपछि उनीहरुले मन्त्री राईलाई कुर्सीमा राखे । मन्त्रीसँगै गएका मन्त्रालयका कर्मचारीले ‘ट्रयालमा उत्तीर्ण र अनुत्तीर्ण भएकाहरूको नामावली किन विवरण उल्लेख नगरेको ?’ भन्ने प्रश्न गरे ।

प्रसाईंले ‘केही विवरण मिलाउनुपर्ने भएकोले त्यो पछि गर्ने तयारी गरेको’ सुनाए । ट्रायल प्रक्रियामा प्राविधिक नराखेको र तत्कालै पासफेल विवरण नराख्नु विधिसम्मत नभएको भन्दै मन्त्रालयका कर्मचारीले भनेपनि मन्त्री राई बोलेनन् । त्यसपछि त्यहाँ खटिएका कर्मचारीले फटाफट उत्तीर्ण परीक्षार्थीको नामको दायाँ ‘पास’ र अनुत्तीर्णको पछाडि ‘फेल’ लेख्न थाले ।

आफू सर्वसाधारणजस्तै बनेर उनीहरूले ट्रयाल दिँदा के कस्तो समस्या भोग्नुपर्ने रहेछ भन्ने बुझ्न अनुगमनमा गएको मन्त्री राईले बताए । ‘त्यहाँ हुने गरेको कमजोरी र गलफदी मैले आफ्नै आँखाले प्रष्ट देखेँ’ उनले भने, ‘अबदेखि गल्ती नगर्न निर्देशन दिएको छु ।’ उनले थप अनुगमन गरेर नागरिकलाई सहज हुने वातावरण बनाउने बताएका छन् ।

अनुगमनको क्रममा ट्रायलमा फेलपास ठाउँको ठाउँ गर्नुपर्ने व्यवस्था रहेपनि कर्मचारीले पछि मात्र फेल वा पास भन्ने गरेको पाइएको मन्त्री राईले बताएका छन् । ‘ट्राफिकले फेल वा पास भन्दो रहेछ’ उनले भने, ‘तर, कर्मचारीले भर्ने फारममा भने फेल वा पास नलेखी खाली नै राख्दा रहेछन् । त्यसबाट आर्थिक चलखेलको आशंका देखिएको छ ।’