चिसो बढेपछि विराटनगरका विद्यालय तीन दिन बन्द

विराटनगर । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा तीन दिन विदा दिने निर्णय गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै महानगरले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको हो ।

अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै विदा दिने निर्णय गरिएको महानगरले जनाएको छ । केही दिनयता विराटनगरसहित तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ । मंगलबार दिउँसो विराटनगरको तापक्रम ९ डिग्री हाराहारीमा छ ।

महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईले तीन दिनको अवस्था हेरेर थप निर्णय हुने बताए । कक्षा ९ भन्दा माथिका विद्यार्थी सहभागी हुने राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता भने सञ्चालन गर्ने निर्णय महानगरले गरेको छ । माघ ३, ४ र ५ गते हुने महानगरपालिकास्तरीय प्रतियोगिता बुधबारदेखि शहीद रंगशालामा सुरु हुनेछ ।

मङ्गलबार, ०२ माघ, २०८०, साँझको ०५:१७ बजे

प्रतिक्रिया

  1. विदा हैनहै हजुर पठनपाठन बन्द गरिएकाे मात्रै हाे । राष्ट्रपतिकप खेलकुद चलिरहेकाेले विदा हैन

प्रतिक्रिया:

सम्बन्धित खवर