विश्वविद्यालयको गलत नीतिले कृषि कलेज समस्यामा

इटहरी । समुदायमा आधारित सहरकारी संस्थाले सञ्चालन गरेको सुनसरीको रामधुनीस्थित जीविका कृषि क्याम्पसले गत शैक्षिक सत्रमा एक जना पनि विद्यार्थी भर्ना गर्न पाएन ।

कृषि क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले २०७५ सालमा कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनबाट सम्बन्धन पाएर स्थापित कलेजमा विश्वविद्यालयले विद्यार्थी नपठाएको हो ।

‘ब्याचलर इन साईन्स एण्ड एग्रीकल्चर’ (विएसी एजी) ४ वर्षे कोर्ष अध्यापन हुने कलेजमा विश्वविद्यालयले नै प्रवेश परीक्षा लिएर विद्यार्थी पठाउने गरेको छ । तर, गत वर्ष प्रवेश परीक्षामा कडाई गरिएको र थोरै मात्र विद्यार्थी प्रवेश परीक्षामा उत्तीर्ण गराएको विश्वविद्यालयले कलेजमा विद्यार्थी नपठाउँदा कक्षा खाली रह्यो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको नीतिगत समस्याको कारण सम्बन्धन प्राप्त कलेजहरूमा विद्यार्थी अभाव हुने गरेको कलेजका व्यवस्थापक शिवकुमार डाँगीको भनाइ छ । वार्षिक ५० जना विद्यार्थी पढाउने अनुमति पाएको कलेजमा गत वर्ष एक जना पनि विद्यार्थी भर्ना भएनन् ।

विश्वविद्यालयले यसअघि आईएस्सी एजी गरेका विद्यार्थीलाई प्रवेश परीक्षामा नै सहभागी नगराउने गरेको कारण पनि विद्यार्थी अभाब भएको कलेजले जनाएको छ । यो वर्ष भने नियमावली संशोधन गरेर आईएस्सी एजी उत्तीर्ण गर्नेले पनि प्रवेश परीक्षा दिएकोले विद्यार्थी अभाव नहुने अपेक्षा रहेको कलेजका अध्यक्ष नबराज चापागाईंले बताए ।

कृषि विषय अध्ययन गराउने विश्वविद्यालय अन्तर्गत ८ वटा आंगिक र ७ वटा सम्बन्धन प्राप्त कलेजहरु छन् । ती कलेजमा वर्षमा ८५० विद्यार्थीले भर्ना पाउँछन् । तर, गत वर्ष विश्वविद्यालयले करिब ६०० जनालाई मात्र प्रवेश परीक्षामा उत्तीर्ण गराएको थियो । कलेजहरुले विद्यार्थी अपुग भएको भन्दै दोस्रो चरणको प्रवेश परीक्षा लिन आग्रह गरेपनि विश्वविद्यालयले अटेर गरेकोले जिविकासहित विद्यार्थी नै पाएन ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति पुण्यप्रसाद रेग्मी भने कृषि तथा वनमा मात्र हैन अन्य सङ्कायमा पनि विद्यार्थीको सङ्ख्या कम भएको बताउँछन् । नमुना प्रवेश परीक्षाको रूपमा निष्पक्ष तरिकाले सञ्चालन गर्दै आएको उनको दाबी छ । प्रवेश परीक्षाको विषयमा छलफल गर्न सकिने उनको भनाइ छ ।

सुविधा सम्पन्न कलेज भवन र छात्रबासहित रहेको जिविकाले सुरुवाती वर्षदेखि नै कोटा अनुसार विद्यार्थी पाएको छैन । कलेजमा पहिलो वर्ष २४, दोस्रो वर्ष १५, तेस्रो वर्ष २९ र चौथो वर्ष २८ विद्यार्थी भना भएका थिए । पहिलो वर्षका विद्यार्थीहरुले स्नातक तह उत्तीर्ण गरेर कृषि क्षेत्रको विकासमा योगदान गर्न थालेको कलेजले जनाएको छ । कलेजमा अध्ययन गर्ने विद्यार्थीले इजरायल, कोरियासहितका मुलुकमा प्रयोगात्मक रुपमा एक वर्ष काम गर्न जान पाउँछन् ।

कलेजले कुल ६ लाख ५० हजारमा चार वर्षे कोर्षको अध्ययन गराउँदै आएकोमा कोरिवा र इजरायल एक वर्ष पुगेर आउँदा विद्यार्थीले ११ लाखदेखि ३० लाखसम्म आर्जन गर्ने गरेको व्यवस्थापक डाँगीले बताए । १५० जनाभन्दा धेरै कृषि विज्ञ, किसान, व्यवसायी र सामाजिक अगुवाहरु मिलेर स्थापना भएको सहकारीको कलेजसँगै २० विगाहा जमिनमा आफ्नै फार्म पनि छ । जहाँ विद्यार्थीले प्राक्टिस गरेर आफूलाई थप निखार्न सक्छन् ।

कृषि फार्मसहित सुविधा सम्पन्न कलेज भवन, व्यवस्थित ल्याब र पुस्तकालय तथा छात्राबास पनि सहकारीले बताएको छ । कृषि फार्ममा ५ विगाहा माछापोखरी, ४३ माउ गाईपालन, एक दर्जन बढि बंगुर माउपाल, करिब ८ कठ्ठा ड्रागन फ्रुट र मेवा लगाएको सहकारीले केहि जमिनमा फुल खेति गरेको छ भने बाँकी जमिनमा भने धान खेति गरेको छ । अब भने फार्मलाई व्यवस्थित गर्दै नमुना बनाइने अध्यक्ष चापागाईंले बताए । फार्मममा १२ जना कामदार कार्यरत छन् ।

१३ करोड ६६ लाख ५० हजार शेयर पुँजी रहेको सहकारीले प्रयोगमा गरेको जमिनमध्ये ९ विगाहा उसकै स्वामित्वको जमिन हो भने ११ विगाहा लिजमा लिएको छ । कृषि उत्पादन, कृषि शिक्षा र कृषि पर्यटनमा जोड दिँदै कृषि विज्ञहरु उत्पादनका लागि प्रयोगात्मक अध्ययन र कृषि पर्यटकहरुलाई आकर्षित गर्ने लक्ष्य कलेजको छ । कृषि उत्पादन बढाउने साथै रोजगारी सिर्जना गर्ने र कृषि पर्यटकहरु भित्रयाउने उद्देश्यले स्थापित सहकारीका उपाध्यक्ष देशबन्धु कार्कीले सरकारको गलत नीतिको कारण आफूहरुको करोडौं लगानी जोखिममा रहेको गुनासो गरे ।

कृषि उत्पादन वृद्धिका लागि सिपयुक्त कृषिमा जोड दिँदै सहकारीले सिटिइभिटीमातर्फत जिवीका फार्मर स्कुल समेत सञ्चालन गर्दै आएको छ । कृषि शिक्षा अध्ययनरत विद्यार्थीहरुलाई बजारसँग जोड्न कलेजले गरेको विभिन्न प्रयासपनि विद्यार्थी आकर्षणको प्रमुख कारण रहेको कलेजले जनाएको छ । कलेजका अनुसार विद्यार्थीलाई रोजगारीसँग जोड्न तथा दक्ष बनाउन जिवीकाले नेपाल कल्चर सेन्टर दक्षिण कोरियासँग कृषि क्षेत्रमा शिक्षा, तालिम तथा प्रविधि हस्तान्तरणका निम्त्तिदुईपक्षीय सम्झौता गरेको छ ।

सम्झौता कार्यान्वयनको माध्यमबाट विद्यार्थीहरुलाई दक्षिण कोरियामा ‘लर्न एण्ड अर्न’ कार्यक्रम मार्फत् इन्टर्नसीप, अन द जब ट्रेनिङ, स्टुडेन्ट एस्चेन्ज र मास्टर्स अध्ययनका लागि समेत आवश्यक सहयोग गर्ने कलेजको योजना छ । यो सम्झौतालाई जिवीकालेकोशी प्रदेशका लागि मात्रै नभई समग्र देशका लागि नै स्वर्णिम अवसरको रुपमा लिएको डाँगीले बताए ।

बिहिबार, १६ कार्तिक, २०८०, दिउँसोको ०४:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page