काठमाडौं । सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमति भएपनि राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा राहत शिक्षकहरुले शनिबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनमा उत्रिएका छन् ।
करिब ४० हजार राहत शिक्षक, बालबिकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आन्दोलनमा रहेको राहत शिक्षक समितिले जनाएको छ । राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले शुक्रबार भएको वार्तामा शिक्षक महासंघका प्रतिनिधिले राहत तथा अस्थायी प्रकृतिका शिक्षकको बचाउ गर्न नसकेको बताए । ‘उहाँहरुले अस्थायी शिक्षकहरुको डिफेन्स लिन सक्नुभएन, सरकारको चंगुलमा फस्नुभयो’, उनले भने ।
शिक्षक महासंघले सबै जिल्लाबाट शिक्षकहरूलाई काठमाडौंमा उतारेर राहत शिक्षकहरूका माग सम्बोधन नगरेको उनीहरुको गुनासो छ । सरकारले शिक्षक कर्मचारीहरूलाई गुमराहमा राखेको र झारो टार्न यो सहमति गरेको भन्दै राहत शिक्षकहरु असन्तुष्ट भएका हुन् ।
राहत शिक्षकको व्यवस्थापनको लागि परीक्षाको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ। पेन्सनबाट वञ्चित गराएको, विद्यालय कर्मचारीहरूको बारेमा कुनै कुरा नराखेको विषयमा शिक्षकहरू आन्दोलित छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।