नेपाल चिकित्सक संघद्वारा आन्दोलनको घोषणा : आइतबार आकस्मिक सेवा बाहेकका स्वास्थ्य सेवा बन्द

काठमाडौँ । हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ । संघले आज एक विज्ञप्ति जारी गरी आन्दोलनको घोषणा गरेको हो ।

डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथि भदौ २७ गते बिरामीको विषयलाई लिएर आक्रमण भएको संघले आरोप लगाउँदै आएको छ । चिकित्सकद्वय थापा र बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन भन्दै संघले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

आन्दोलनका कार्यक्रममा भदौ ३१ गते आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पाल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने संघले जनाएको छ ।

क्जष्खबm ऋझभलत
संघले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा समेत जोड दिएको छ ।

जारी विज्ञप्तिमा देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन समेत माग गरिएको छ ।

भदौ २७ गते चिकित्सकद्वय थापा र बिडारीमाथि बिरामीका आफन्तले अस्पतालमा नै साङ्घातिक आक्रमण गरी घाइते बनाएका थिए ।

यद्यपि, जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार डाक्टर कुटपिट घटनामा संलग्न ४ जनालाई ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको बताएको छ ।

शनिबार, ३० भदौ, २०८०, रातीको ०८:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर