विराटनगर । मोरङ लेटाङकी मित्रा आचार्यले देवर कृष्णको उपचार गर्न अनेक गरिन् । प्यारालाइसिसबाट थला परेका देवरलाई जति उपचार गरे पनि सन्चो भएन । डाक्टरी उपचारबाट सन्चो नभपछि हैरान भएकी मित्रालाई शिवशक्ति बाबाकोमा उपचार गराउँदा ठीक हुन्छ भनेर केही आफन्त तथा छिमेकीहरूले सुनाइदिए । युटयुबमा पनि शिवशक्ति बाबाले राम्रो उपचार गराइरहेको भन्ने खालका भिडियो हेरेकी थिइन् ।
अस्पताल धाउँदा धाउँदा हैरान भएकी उनले देवरलाई शिवशक्ति भनिने बाबाकोमा लगिन् । उपचार थाल्नुअघि नै बाबाले १५ हजार रुपैयाँ इन्ट्री फी लिए । १५–२० दिन उनकैमा बसेर उपचार गर्नु पर्ने बताए । दैनिक एक हजार दिने सर्तमा एक जना हेरालो समेत राखिन् । २० दिन बसेको भनेर थप २० हजार लिएका थिए । २० दिन बस्दा पनि देवरलाई २० को १९ भएन । उनी निराश हुँदै फर्किइन् । बाबाको विश्वासमा लागेर उनको पैसा मात्रै खर्च भयो । उनी बाबाबाट ठगिइन् । बाबाकोमा बस्दा दुखाइ झन् बढेपछि फेरि औषधि सुरु गरेको उनले बताइन् ।
शिवशक्ति बाबाबाट ठगिने उनी एक्लो भने होइनन् । बाबाबाटै ठगिने सूचीमा मोरङको उर्लाबारीका विनोद श्रेष्ठ पनि छन् । लेटाङकै आशिष राईले पनि बुबाको उपचार गराउन भनेर ७० हजार बढी तिनै बाबाकोमा खर्च गरेका थिए । घरमै आएर ती बाबाले १५/२० दिन बसे च्वाट्टै हुने भनेपछि आशिषले बुबालाई उपचार गराउन लगेका थिए ।
आशिषले २० दिन बाबाकोमा राखेका थिए । २० दिन बस्न उनले पनि २० हजार दिएका थिए । उपचारका लागि छुट्टै ५० हजार दिएका थिए । तर, बुबालाई झन् पीडा भएपछि अस्पताल लगेर उपचार गएको आशिषले बताए ।विगत दुई/तीन वर्षदेखि लेटाङ–९ जाँतेमा बसोबास गरेर मिलन भनेर चिनिने सुजन मगरले शिवशक्ति बाबाका नामबाट ठगिरहेका छन् । लेटाङ–९ जाँतेका उनले बिरामीहरू बस्न घरसँगै मन्दिर पनि बनाएका छन् । त्यहाँ उपचार गराउन आएकामध्ये ४ जनाको निधन भइसकेको एक छिमेकीले बताए । ‘यहाँ उपचार गराउन आउने ४ जनाको उनकै घरमा मृत्यु भइसकेको छ,’ एक छिमेकीले भने । बाबाले दैनिक मानिसहरूलाई ठगिरहेको भए पनि प्रशासनले कुनै चासो नदेखाएको उनको भनाइ छ ।
उनले केही बिरामीहरू प्रचार गर्नकै लागि पश्चिमबाट ल्याएरसमेत राखेका छन् । ती बिरामीहरूको काम यहाँ आएर उपचार गराएपछि निको भयो भनेर युट्युबमा बोल्ने मात्रै रहेको छ । उनीहरूलाई मासिक पैसा दिएर राखिएको छिमेकी बताउँछन् । मासिक २० देखि २५ हजारसम्म एक बिरामीलाई दिएर बोल्न लगाउने गरेको एक छिमेकीले बताए । उनको भिडियो बनाएर हाल्ने केही युट्युबर पनि राखेका छन् । ‘ती युटुबरलाई पनि पैसा दिएर प्रचार गराइँदो रहेछ,’ स्रोतले भन्यो । उनले जन्मँदै अपाङ्ग भएका, गम्भीर प्यारालाइसिस भएका र छाला रोगको उपचार तान्त्रिक विधिबाट गर्ने भन्दै ठगी गर्ने गरेका छन् । चमर तथा त्रिसुलले हानेर निको हुने भन्दै आश्वासन दिने गरेका छन् ।
१३ जना स्थानीयले मिलनलाई कारवाहीको माग गर्दै लेटाङ नगरपालिका वडा नम्बर ९ को कार्यालयमा समेत उजुरी दिएका छन् । २०८० असार ११ गते उनीहरूले निवेदन दिएका हुन । उनीहरूले बाबाकोमा उपचार गराउन आउनेले मदिरा सेवन गरी हो–हल्ला गरेको भन्दै वडा कार्यालयमा निवेदन दिएका थिए । तर, अहिलेसम्म वडाले समेत यसबारे कुनै चासो दिएको छैन ।
उनले प्यारालाइसिस भएका बिरामीहरूलाई समेत मुन्धुमबाट उपचार गराउने दाबी गर्दै आएको वडाध्यक्ष नन्दप्रसाद खतिवडाले बताए । तर, निको हुने÷नहुनेबारे जानकारी नभएको उनले बताए । ‘निको भयौं भनेर बिरामीले नै हालेको भिडियो मोबाइलमा देखिन्छ’, वडाध्यक्ष खतिवडाले भने, ‘बुटवल, काठमाडौँ र पोखरादेखि उनकोमा उपचार गराउन आउँछन् भन्ने सुनेको छु ।’ उपचारमा आएका ४ जनाको मृत्यु भएको भनेर पनि आफूले सुनेको बताए ।
उनले घरमै बनाएको मन्दिर दर्ता गर्न निवेदन दिए पनि वडाले भने दर्ता गरिदिएको छैन । छिमेकीहरूले मन्दिर दर्ता नगरिदिनू भनेर निवेदन दिएपछि दर्ता नगरिएको उनले बताए । छिमेकीहरूको मन्जुरी लिएर आएपछि मात्रै दर्ता गर्ने भनेर पठाएको वडाध्यक्ष खतिवडाले बताए । उनले प्यारालाइसिस भएका बिरामीलाई उपचार गराएर हिँड्ने बनाएको भन्दै भिडियोसमेत हाल्ने गरेका छन् । हिँडेर गएका व्यक्तिलाई भेद निकाल्न भन्दै ५ हजारसम्म लिने गरेको स्रोत बताउँछ । शनिवार र मंगलवार भेद निकाल्ने भन्दै उनले पैसा असुल्ने गरेका छन् । उनले छिमेकीहरूलाई समेत मेरो कुरा काटे ३ महिना पनि नटिक्ने भन्दै धम्काउने गरेका छन् । ‘मेरो कुरा काट्यौ भने ३ महिना पनि टिक्दैनौ’÷सिध्याइदिन्छु भनेर धम्काउने गरेको उनका छिमेकीहरू बताउँछन् । स्थानीयले पटक पटक खबरदारी गरे पनि पीडितको कुनै जाहेरी नपरेको भन्दै प्रहरी बेखबर जस्तै छ । स्थानीयले जानकारी गराए पनि पीडितले जाहेरी नदिएपछि खोजीको विषय नबनेको लेटाङका प्रहरी निरीक्षक भिमलाल ओलीले बताए ।
शिवशक्ति बाबा भनिने मिलनले आफूले उपचार गराउने गरेको दाबी गरे । अस्पतालले बिदा दिएका बिरामीको तान्त्रिक तथा जडिबुटीको माध्यमबाट उपचार गराउने गरेको उनको दाबी छ । ‘अस्पतालले माया मारेका बिरामी मेरोमा आउँछन्,’ उनले भने, ‘मैले त्यस्ता बिरामीलाई कागज नै गरेर एक महिनाभित्र ठीक पार्छु ।’ उनले उपचार गर्न आउँदा खाना खाएको पैसा नलिने गरेको भए पनि बसेको मात्रै लिने गरेका दाबी गरे । आफूले भेद झिक्ने गरेको पनि उनले स्वीकार गरे । ‘अस्पतालमा उपचार गराउँदा सबै पैसा सकेपछि मेरोमा आउँछन् । धेरै दिँदैनन्,’ उनले भने, ‘गरिबलाई सहयोग गर्ने उद्देश्य मेरो हो । पैसा कमाउने भन्ने हैन । तर पछिल्लो समय मेरा पछाडि पनि केही मानिस लागेका छन् ।’