विराटनगरमा सोमबारबाट दादुरा–रुवेलाको खोप

विराटनगर । विराटनगर महानगरपालिकामा आउँदो सोमबारबाट दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गर्ने भएको छ । महानगरको सबै वडामा खोप अभियान सञ्चालन हुने महानगरले जानकारी दिएको छ ।

स्वास्थ्य निर्देशनालय धनकुटा, स्वास्थ्य कार्यालय मोरङ र विश्व स्वास्थ्य संगठनको समन्वयमा महानगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा खोप अभियान सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । महानगरले सबै सरोकारवालाहरुसँगव छलफल गरेको हो ।निर्देशनालयका खोप अधिकृत उदय श्रेष्ठले कोशी प्रदेशको मोरङ र सुनसरीमा खोप अभियान सञ्चालन गर्ने बताए ।

उनले कोशी प्रदेशको मोरङको रतुवामाई नगरपालिका र सुनसरीको बर्जु गाउँपालिका दादुरा–रुवेलाको उच्च जोखिम रहेको जानकारी दिए । हाल रतुवामाईमा ४१ जना र बर्जुमा ३२ जना दादुरा–रुवेलाका बिरामी भेटिएको उनको भनाइ थियो । विद्यालय केन्द्रित खोप केन्द्र राखेर अभियानलाई सफल बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

महानगर क्षेत्रभित्र १८४ खोप केन्द्रमार्फत दादुरा–रुबेलाको खोप लगाइने महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । त्यसका लागि एउटा खोप केन्द्रमा दुईजना स्वास्थ्यकर्मी र दुईजना स्वयम्सेवक परिचालन गरिनेछ ।

कार्यक्रममा महानगरकी उपमेयर शिल्पा निराला कार्कीले सबैको साथ र सहयोगले खोप अभियानलाई सफल बनाउनुपर्नेमा जोड दिइन् । खोपका विषयमा हरेक व्यक्तिले टोल–टोलमा पुगेर प्रचारप्रसार र सचेतना फैल्याउनुपर्नेमा कार्कीले जोड दिइन् । ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत अनिल देवले बताए । उनले खोप लगाएका १० हजारमध्ये एकजना बालबालिकामा असर देखिन सक्ने सम्भावना रहेको जानकारी दिनुभयो । सरकारले सन् २०२३ भित्र नेपालबाट दादुरा–रुवेला निवारण गर्ने लक्ष्य राखेको थियो । तर, त्यो सम्भव नभएपछि आगामी २०२६ सम्ममा दादुरा–रुवेला निवारण गर्ने लक्ष्य राखेको छ ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतसहित विभिन्न वडाका अध्यक्ष, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, डब्लूएचओ विराटनगरकी डा. करिष्मा गुरुङ,लगायतको उपस्थिति रहेको थियो ।

महानगर क्षेत्रभित्र अझै पनि ४ प्रतिशत बालबालिकाले कुनै खोप नलगाएको भेटिएको तथ्यांक प्रस्तुत गरिएको थियो ।

शुक्रबार, ०८ भदौ, २०८०, बिहानको ०७:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर