डाक्टर कर्णले नि:शन्तान दम्पतीलाई शिशु बचेको आशङ्का, डिस्चार्ज पछि अनुसन्धान सुरु

विराटनगर । विराटनगरस्थित ग्रीनक्रस हस्पिटलबाट एक दिनको नवजात शिशु हराएपछि पक्राउ परेका उपचारमा संलग्न स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर ६८ वर्षीय तपेश्वरलाल कर्णलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले उनलाई पक्राउ गरेपछि गत शुक्रवारदेखि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका थिए । अस्पतालले मङ्गलवार दिउँसो डिस्चार्ज दिएपछि प्रहरीले न्यायिक हिरासतमा राखेर मङ्गलवार वाट अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।

डाक्टर कर्णलाई लिन मोरङ प्रहरीका सईको नेतृत्वको प्रहरी टोली हस्पिटल पुगेको थियो । अनुसन्धान पछि पुनः हस्पिटल आउने भनेपछि मात्र उनी मोरङ प्रहरी जान राजि भएका थिए । उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै कर्ण कोशी अस्पतालको जेनरल वार्डको सिङ्गल क्याबिन २१२ नम्बरमा बसेका थिए ।

पक्राउ परेका कर्ण र भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रहरीले ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ आइतबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

पक्राउ परेका प्रतिवादीले अविवाहित किशोरीबाट जन्मिएको शिशु कता लगे अहिलेसम्म खुलेको छैन । कोशी अस्पतालका पूर्व मेसु समेत रहेका कर्णले अविवाहित जोडीबाट जन्मिएका शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई उपलब्ध गराएको हुनसक्ने भएकोले त्यसतर्फ प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । ‘हस्पिटलबाट बेपत्ता पारिएको शिशुलाई चिकित्सक कर्णले मोटो रकम लिएर बचेको हनु सक्ने भएकोले सबै तिरबाट गहन अनुसन्धान सुरु गरिएको छ,’ उनले भने ।

पक्राउ परेका राई २६ वर्षीय किशोरीका प्रेमी हुन् । १३ असारमा ती किशोरीको ग्रीनक्रस हस्पिटलमा प्रसूति भएको थियो । उनले ‘नर्मल डेलिभरी’मार्फत छोरीलाई जन्म दिइन् । दुई जनाबिचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आएका थिए । सुरुमा ग्रीनक्रस अस्पताल नजिकै रहेको दीपेश मेडिकल क्लिनिकमा लिएर आए । उक्त क्लिनिक डाक्टर कर्णको हो । क्लिनिकमा आएका बिरामी भर्ना गर्नुपर्दा उनले ग्रीनक्रस अस्पतालमा लगेर उपचार गर्दै आएका छन् । उनको क्लिनिकबाट ग्रीनक्रस ५० मिटर पश्चिममा रहेको छ । डा कर्णले ती किशोरीका प्रेमीसँग ३५ हजार रुपैयाँ लिएर प्रसूति गराएका थिए । उनीहरूबाट जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि कर्णले लिए । किशोरीलाई वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । व्यथा लाग्ने औषधी खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले १४ असार दिउँसो डिस्चार्ज दिएको अस्पतालको रेकर्डमा देखिन्छ । डिस्चार्ज हुँदा नवजात शिशुलाई राईले हस्ताक्षर गरेर बुझेको देखिन्छ ।

कर्णले यसअघि पनि शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई उपलब्ध गराउँदै आएको हस्पिटलका चिकित्सक बताउँछन् । उनी लामो समयदेखि यस्तो कार्यमा सक्रिय रहेको हुनसक्ने भएकोले प्रहरीले यसतर्फ पनि अनुसन्धान अगाडी बढाएको छ ।

कर्णको धन्दा नै अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अभिभावकबाट समेत रकम लिने र त्यही शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई बिक्री गर्ने देखिएको छ । अवैध सम्बन्धबाट गर्भ रहने तथा अविवाहित प्रेम जोडीसँग डा। कर्णको भेट गराउने गिरोह नै सक्रिय रहेको अस्पताल स्रोतको भनाइ छ । नर्स स्तरका केही स्वास्थ्यकर्मी पनि उनको सहयोगी रहेको उनलाई नजिकबाट चिन्ने चिकित्सकहरू बताउँछन् । त्यस्ता जोडीको सम्बन्धबाट बसेको गर्भ पतन गराउने र गर्भपतन गर्न नमिलेर जन्मिने शिशुको व्यवस्थापनका लागि अभिभावकबाटै रकम लिएर डा। कर्णले अन्यत्र बिक्री गर्दै आएको बुझिएको छ ।

मङ्गलबार, ०५ भदौ, २०८०, साँझको ०५:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर