विराटनगर । कोशी प्रदेश सभाको बैठक छलेर काठमाडौ पुगेकी उपसभामुख सिर्जना दनुवार शहीद गंगालाल हृदय केन्द्रमा भर्ना भएकी छन् ।
मुटुसम्बन्धी रोग लागेको आशंकामा रहेको भन्दै उनी अस्पताल भर्ना भएकी हुन् ।
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीका अनुसार रेफरल केसका रुपमा आएपछि दनुवारलाई अस्पतालमा भर्ना गरिएको हो । उनको स्वास्थ्य परीक्षणको काम भइरहेको अस्पतालले जनाएको छ ।
दनुवारलाई शंका गरिएको रोग हो कि होइन यकिन गरी रोग देखिएमा उपचार गर्ने र रोग नदेखिएमा डिस्चार्ज गर्ने अस्पतालको भनाई छ। उनलाई के रोगको शंका हो भन्ने सम्बन्धमा अस्पतालले विरामीको गोपनियताका कारण सार्बजनिक गर्न नमिल्ने बताएको छ ।
आज मुख्यमन्त्री थापाको विश्वासको मत लिने दिन तोकेकी उनी बिहानै काठमाडौ पुगेकी थिइन । आफू बिरामी भएको पत्र उनी काठमाडौ पुगेपछि प्रदेश सभा सचिबालयमा दर्ता भएको थियो ।
उपसभामुख बैठक छाडेर हिडेपछि आजको बैठकको अध्यक्षता अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीले गरेका छन् ।