विराटनगर । कोशी प्रदेशको औधोगिक कोरिडोरमा अवस्थित स्थानीय तहमा उत्पादनमूलक उद्योगको प्रवद्र्धन तथा वातावरण संरक्षण गर्न द्विपक्षीय सहकार्यमा जोड दिइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले बुधबार विराटनगरमा आयोजना गरेको कार्यशालामा आपसी सहकार्यबिना औद्योगिक वातावरण सिर्जना हुन नसक्ने बताइयो । उद्योगमैत्री वातावरण निर्माणका लागि स्थानीय सरकारले अनुकुल नीतिगत वातावरण निर्माण गर्नुपर्ने सहभागीको जोड थियो ।
उत्पादनमुलक उद्योगको विकास, रोजगारी सिर्जना, वातावरण संरक्षण र प्रदुषण नियन्त्रणका लागि निजी क्षेत्र, स्थानीय सरकार, प्रदेश र संघीय सरकारबिच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्नेमा उनीहरूले बताए ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्रोतको सीमितताले गर्दा सवै काम एकै पटक गर्न नसकिने बताउँदै भने,“ महानगरपालिकाले उद्योग व्यवसायमा लाग्ने कर बृद्धि गरेको छैन् । सरकारको जिम्मेवारी पूरा गर्न राजस्व संकलन आवश्यक छ । कृषि, उद्योग र वाणिज्य क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि नीतिगत सुधार गर्नुपर्ने भए हामी तयार छौं ।”
नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले तथ्यांक विभागको तथ्यांक प्रस्तुत गर्दै कोशी प्रदेशमा १ लाख ६८ हजार उद्योग धन्दा संचालनमा रहेकोमा औधोगिक क्षेत्रमा २३ हजार बढी उद्योग व्यवसाय रहेको जानकारी दिए । जसमध्ये १९ हजार ३८० वटा उत्पादनमुलक उद्योग छन् । औधोगिक क्षेत्रका पाँचवटा स्थानीय तहमा २ हजार ८८९ वटा उद्योग रहेको उनले बताए । उद्योगहरु मार्फत १ लाख १६ हजार बढीले रोजगारी प्राप्त गरेकोमा यस क्षेत्रले मात्र ४० हजार ६७० जनाले रोजगार दिएको राउतको दाबी छ ।
उनले अध्यक्ष राउतले अन्तर स्थानीय तहबीच सहकार्यका लागि राजश्व नीतिमा एकरुपता, अनुसन्धान र विकासमा सहकार्य आवश्यक भएको चर्चा गरे ।
औधोगिक करिडोरमा रहेका विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका, दुहवी नगरपालिका, बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका र जहदा गाउँपालिकाका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरु कार्यक्रममा सहभागी थिए ।