काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल सङ्कलन गर्न र पुनर्निर्माण थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
सोमबारदेखि परेको भारी वर्षाले देशभर ठुलो मात्रामा भौतिक क्षति हुनुका साथै केही ठाउँमा मानवीय क्षति पनि भएको छ । मन्त्री ज्वालाले मकवानपुरको बागमती गाउँपालिका पाँचमा आज बिहान गएको पहिरोमा परी सन्तमाया स्याङतानको निधन भएकोमा दुख व्यक्त गरेका छन् ।उनले सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल सङ्कलन गर्न मातहतका निकायलाई निर्देशन दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका प्रेस संयोजक जीवन बिसीले जानकारी दिए ।
निरन्तरको वर्षाले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ भने केही स्थानमा पहिरो गएको छ । सडक भासिएपछि आवत–जावत पुर्णरुपमा बन्द भएको छ । बन्द भीमदत्त सडकको तत्काल पुनर्निर्माण मा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागका महानिर्देशक सुशील बाबु ढकाललाई मन्त्री ज्वालाले निर्देशन दिएको बिसीले जानकारी दिए।
उता,निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्गको उत्तरतर्फको मूल गेट नजिकै पहिरो जाँदा बुटवल पाल्पा सडक अवरुद्ध बनेको छ । नारायणगढ –मुग्लिङ सडक खण्डको इच्छा कामना गाउँपालिका–६ काली खोलालगायतका स्थानमा पहिरो खस्दा उक्त सडक खण्ड पनि बिहानैबाट अवरुद्ध बनेको छ । पहिरो पन्छाउने कार्य भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी गराएको छ ।
देशका विभिन्न ठाउँमा गएको बाढी र पहिरोको कारण भौतिक पूर्वाधारको क्षेत्रमा ठुलो क्षति भएको हुनसक्ने भन्दै मन्त्री ज्वालाले क्षतिको विवरण सङ्कलन गर्न र भासिएको भीमदत्त राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मङ्गलवार निर्देशन दिएका छन् ।























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।