विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले नेपाल राष्ट्र बैंकलाई ल्याउने मौद्रिक नीतिकाका १५ बुँदे राय सुझावहरु दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बुधबार १५ बुँदे सुझाव दिएका हुन् ।
मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने नीति अवलोकन गर्नेपर्ने आजको आवश्यकता रहेको अध्यक्ष राउतले बताए । जसबाट नीजि क्षेत्रले चाहेको एकल विन्दुको व्याजदर र बैंकहरुले लगानीको अवसर हुने बाटो खुल्ने उनले बताए । महासंघले एक करोडमाथिको व्यक्तिगत कर्जा र मार्जिन प्रकृतिको कर्जामा १५० प्रतिशत जोखिम भर्ति सम्पत्ति गणना गर्नुपर्ने व्यवस्थालाई १०० प्रतिशतमा झार्नु पर्ने सुझाव दिएको छ ।
यस्तै चालु पुँजी कर्जा मार्गदर्शनको कारण बजारमा मन्दी आएको हुँदा उक्त मार्गदर्शनलाई समयसापेक्ष गर्नुपर्ने, टिआर कर्जा ९० दिनको हुने व्यवस्थालाई १२० दिन बनाउनु पर्ने, चालु पुँजी कर्जा मार्गदर्शनका आधारमा वर्षको एक पटक ७ दिनसम्म कर्जा शून्यमा झार्नुपर्ने व्यवस्थालाई खारेज गर्नुपर्ने जस्ता सुझाव महासंघले दिएको छ ।
यसैगरी संस्थागत निक्षेपकर्ताको मुद्दती निक्षेपको अधिकतम ब्याजदर आधारदर भन्दा २ प्रतिशत कम हुनुपर्ने, साना तथा मझौला उत्पादनमूलक उद्योगहरुलाई लगाइने ऋणको ब्याजदर आधारदरमा अधिकतम २ प्रतिशत जोखिम प्रिमियर हुनुपर्नेलगायतका सुझाव दिएको छ ।