विराटनगर । विराटनगर महानगरपालिका वडा न. ७ मा रहेको इको चिल्ड्रेन फन पार्क विगत लामो समयदेखि बन्द भएको छ ।
विरेन्द्र सभागृहसँगै दक्षिणमा जोडिएको इको फन पार्कमा कुनै समय विभिन्न ठाउँबाट दिनहुँ घुम्न आउनको संख्या मनग्ये हुन्थ्यो । उक्त पार्क महानगरपालिका र मोरङ व्यापार संघले २०७४ सालमा संचालन गरेको थिए । केही समयपछि महानगरले पार्कको सम्पूर्ण जिम्मा लिएको मोरङ व्यपार संघका अध्यक्षले नविन रिजालले बताए । कोरोनाको महामारीको कारण दुई वर्ष नपुग्दै पार्क बन्द अवस्थामा पुग्यो । घुम्न आउनेको संख्या घट्दै गएको कारण कर्मचारीहरुलाई समयमा तलब पुर्याउन नसकेकोले पार्क बन्द भएको हो ।
सुन्दर शान्त वतावरणमा रहेको यो पार्कमा बालबालिका खेल्नको लागि चिप्लेटी, पिङ बनाइएको थियो । यो पार्क अहिले जङ्गलमा परिणत भएको छ । चारै तिर झारपातहरु पलाएको छ ।
बाहिर लेखिएको इको फन पार्कको लोगो समेत भाँचिएको छ । भित्र रहेको वाटर फाउन्टेनको पानी सुकेको छ भने पार्क परिसरभित्र अहिले नगर प्रहरीको बसोबास छ । त्यहाँ राखिएको माछाहरु पानी नभएर मरेका छन् ।
पार्कलाई चाँडै संचालनमा ल्याउने र त्यसका लागि पार्कको सुधार गर्न र पुनःनिर्माण गरी त्यसको संरचना गर्ने विराटनगर ७ नम्बर वडाध्यक्ष मधुबाबु तिवारीले बताए । यसको सम्पूर्ण स्वामित्व महानगरको भएकोले महानगरले नै पूर्ण जिम्मेवारी लिने उनले बताए ।