विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय तथा व्ययको अनुमानित विवरण आइतवार नगर सभामा पेश गरेको छ ।
उपप्रमुख शिल्पा निराला कार्कीले पेश गरेको आय तथा व्ययको अनुमानित विवरण अनुसार महानगरपालिकाले स्रोतमा देखिएको संकुचनको अवस्थालाई मध्यनजर गरेर चालु आर्थिक वर्ष २०७९/८० को भन्दा ८८ करोड ५९ लाख ९८ हजार रुपियाँ घटाएर आगामी वर्षको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षमा महानगरको संशोधित बजेट ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपियाँ थियो । तर, महानगरपालिकाले चालु वर्षको (११ महिनामा) जेठ मसान्तसम्म २ अर्ब ८६ करोड ८३ लाख रुपैयाँ मात्र यथार्थ आम्दानी गरेपछि बजेटको आकार घटाउँनै पर्ने बाध्यता बनेको हो ।
यस्तै विराटनगर महानगरपालिकाले चालु वर्षको बजेट निर्माण गर्दा गरेको व्यय र आम्दानी दुवैको लक्ष्य प्राप्त गर्न असफल भएको छ । चालु वर्षमा महानगरले व्यय तर्फ लक्ष्य हासिल गर्न नसकेको बजेट वक्तव्यमामै स्वीकार गरेको छ । महानगरले ४ अर्ब १७ करोड रुपैयाँको व्यय अनुमान गरेर कार्यक्रम तर्जुमा गरेको थियो ।
तर, चालु वर्षमा २ अर्ब २४ करोड ८२ लाख २९ हजार ६७ रुपियाँ मात्र यथार्थ खर्च गर्न सकेको छ । यो खर्च अनुमानित लक्ष्यको ५३ प्रतिशत मात्र हो । पुँजीगत तर्फ २ अर्ब २७ करोड रुपियाँ खर्च अनुमान गरेको महानगरले चालु वर्षमा जम्मा ९० करोड १९ लाख ६ हजार ६७८ रुपियाँ मात्र खर्च गर्न सकेको छ । महानगरले बजेट अनुमानको जम्मा ३९ प्रतिशत मात्र पुँजीगत खर्च गर्न सकेको छ । यथार्थ खर्च मध्ये महानगरले पुँजीगत खर्च ३१ प्रतिशत मात्र सफलता प्राप्त गरेको छ । विराटनगरको पुँजीगत भन्दा चालु खर्च ३९ करोड रुपियाँ भन्दा बढी भएको छ । चालु तर्फ १ अर्ब २९ करोड ८९ लाख ४० हजार ७२२ रुपियाँ खर्च गरेको छ ।
चालु वर्षमा १ अर्ब ८४ करोड रुपियाँ चालु खर्च हुने अनुमान महानगरको थियो । चालु वर्षको ११ महिनामा महानगरले ५१ करोड ६५ लाख ९४ हजार ९१९ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ ।