विराटनगर । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटमा मोरङको रतुवामाई नगरपालिकामा झण्डै ७ करोड ५० लाख रुपैयाँ बराबरका विकास योजनाहरुलाई समावेश गरेको छ ।
मोरङको निर्वाचन क्षेत्र २ ९१० अन्तरगत पाँच ओटा सामुदायिक भवन, दुई ओटा झोलुङ्गे पुल, चार ओटा सडक कालोपत्रे, चार ओटा पुल, विद्यालय भवन कम्पाउण्ड तथा सिंचाइ आदि गरी १९ ओटा योजनामा संघीय सरकारले बजेट विनियोजन गरेको हो ।
संघीय सरकारबाट रतुवामाई नगरपालिकालाई लक्षित गरी पहिलो पटक यति धेरै योजनाहरु र बजेट विनियोजन भएको हो । प्रदेश सभा सदस्य गणेशप्रसाद उप्रेती ‘सुशिल’ले आफ्नो निर्वाचन क्षेत्रमा गर्नै पर्ने कामलाई प्राथमिकतामा राखेर संघीय सरकारसँग लबिइङ गरेका थिए । संघीय सरकारका मन्त्रालयबाट योजना छनौट गर्न र बजेट विनियोजन गर्नका लागि उप्रेतीसँगै रतुवामाईका माओवादी नेता सुमन कालिकोटेले निरन्तर पहल गरेका थिए । परिणाम स्वरुप आगामी वर्षको बजेटमा ७ करोड ३८ लाख रुपैयाँ बराबरका योजनाहरु समावेश भएको हो ।
सामान्य प्रशासन मन्त्रालय अन्तरगत सात ओटा, सहरी विकास मन्त्रालय अन्तरगत पाँच ओटा, भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत चार ओटा, उर्जा मन्त्रालय अन्तरगतका दुई ओटा र पर्यटन मन्त्रालय अन्तरगतका एउटा योजनामा बजेट विनियोजन भएको हो ।
आगामी वर्षको योजना कार्यान्वयनमा आउँदा तत्कालीन महादेवाका स्थानीय जनताले वर्षौंदेखि प्रतीक्षा गरिरहेको मिर्चाडाँगीमा झोलुङ्गे पुल बनाउने सपना साकार हुने भएको छ । रतुवामाई ३ स्थित रतुवा खोलामा पुल नहुँदा त्यस क्षेत्रका बासिन्दाहरुले खोला वारपार गर्न सास्ती खेप्दै आएका थिए । उक्त झोलुङ्गे पुल निर्माणको योजनालाई रातो किताबमा समावेश गर्न प्रदेश सांसद उप्रेतीसहित गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट उपमेयर पदका उम्मेदवार सुमन कालिकोटे तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीका प्रमुख स्वकीय सचिव सुमन कालिकोटेले निरन्तर पहल गरेका थिए । मिर्चाडाँगीमा पुल बनेपछि स्थानीयलाई सीमावर्ती भारतीय बजार तर्फ आवतजावत गर्नसमेत निकै सहज हुने भएको छ ।
संघीय सरकारले रतुवामाई नगरपालिका क्षेत्रभित्र विगत वर्षदेखि केही बहुवर्षे आयोजनाहरु निरन्तर सञ्चालन गरिरहेको छ । चालु वर्षमा ती योजनाहरुका लागि पनि बजेट विनियोजन भएको छ भने १९ ओटा नयाँ योजनाहरु थपिएका छन् । यी योजनाहरुले स्थानीय क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने प्रदेश सभा सदस्य गणेश उप्रेतीले बताए । उनले प्रदेश सरकारले ल्याउने बजेटमा अरु केही महत्वपूर्ण योजनाहरु समावेश हुने र संघीय सरकारबाट सशर्त अनुदान तथा अन्य कार्यक्रम मार्फत थप योजनाहरु ल्याउन पहल भइरहेको बताए ।
क्षेत्रमा सडक, विद्यालय भवन, सिंचाइ तथा अन्य क्षेत्रमा थुप्रै काम गर्नु पर्ने भएपनि पहिलो पटक यति धेरै संख्यामा आयोजनाहरु सञ्चालन हुने वातावरण तयार हुनु सकारात्मक भएको भएको र आगामी दिनमा पनि थप योजना ल्याउन पहल गर्ने उप्रेतीले बताए ।
आगामी वर्ष रतुवामाई ३ स्थित हनुमान चोकदेखि झुर्किया हुँदै वडा नम्बर ४ को पैयामारीसम्म जोड्ने सडक कालोपत्रे गर्न ५० लाख, वडा नम्बर ८ जिपि मार्ग कालोपत्रे गर्न २० लाख, वडा नम्बर ८ कै इटहरा राधाकृष्ण मन्दिरदे िसरस्वती मा।वि। सडक कालेपत्रे गर्न ३० लाख, मिर्चाडाँगीमा झोलुङ्गे पुल निर्माण गर्न २० लाख, हटिया खोलामा झोलुङ्गे पुल निर्माण गर्न २१ लाख, लारिकट्टामा अल्टाई होली पुलका लागि ८९ लाख, गोविन्दपुर मल्टिसेलमा आरसिसी पुल बनाउन ४७ लाख, कट्नु खोला पुलका लागि ४७ लाख, कजला खोला पुलका लागि १ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
यसैगरी बक्राहा सेन्टर जल उपभोक्ता समितिलाई सिंचाइ मर्मत गर्न २५ लाख, सुनवर्षीमा डिप बोरिङका लागि ३२ लाख, सरस्वती मावि कादुपाडाको कम्पाउण्डका लागि २५ लाख, इटहरा स्कुलदेखि कट्नुसम्म सडक कालोपत्रे गर्न २५ लाख, सोमबारे बजार सौन्दर्यकरण गर्न २५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
यस्तै पिडाली सामुदायिक भवन, कल्याणपुर सामुदायिक भवन, नवदुर्गा सामुदायिक भवन, इटहरा सामुदायिक भवन निर्माण गर्न २५ लाख रुपैयाँका दरले बजेट छुट्याएको छ । बजेटमा सोनामाइस्थान निर्माणका लागि पर्यटन मन्त्रालयबाट २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।