विराटनगर । कोशी प्रदेश सरकारले खर्च गर्ने समयावधि असार मसान्तलाई गणना गर्दा अब पाँच हप्तामात्रै बाँकी छ । यो अवधिमा सरकारले पूँजीगत खर्चको प्रतिशत ४८ दशमलव ५६ प्रतिशत अर्थात् ११ अर्ब ३१ करोड १० लाख ४६ हजार गरेको छ । प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको यो तथ्यांक जेठ २५ गतेसम्मको हो ।
कोशी प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३९ अर्ब ८७ करोड ३१ लाख ६९ हजार रुपैयाँको अनुमानित आय व्यय प्रस्तुत गरेको थियो । जसमा पूँजीगततर्फ २३ अर्ब २८ करोड ८८ लाख २० हजार रहेको छ । यस्तै प्रदेश सरकारले चालू खर्च १६ अर्ब ५८ करोड ४३ लाख ४८ हजार मध्ये ५४ दशमलव २६ प्रतिशत अर्थात् १० अर्ब ३२ करोड ६८ हजर ९६ हजार खर्च गरेको छ । चालू र पूँजीगत तर्फको खर्चको अवस्था भने ६२ दशमवल २६ प्रतिशत अर्थात् २१ अर्ब ६३ करोड ७९ लाख ४२ हजार रहेको छ ।
प्रदेश सरकारको सबैभन्दा बढी खर्च गर्ने मन्त्रालय भनेको सडक पूर्वाकार तथा शहरी विकास मन्त्रालय (हालको भौतिक पूर्वाधार विकास मन्त्रालय) हो । उक्त मन्त्रालयको जम्मा बजेटमध्ये चालू तर्फ ३५ करोड ५७ लाख ६४ हजार रहेपनि पूँजीगत तर्फ भने १३ अर्ब ९० करोड ६१ लाख रुपैयाँ रहेको थियो । जुन रकममध्ये पूँजीगत तर्फ उक्त मन्त्रालयले ६ अर्ब ७९ करोड ४० लाख ९१ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । यस्तै पूँजीगत बजेट धेरै रहेको अर्को मन्त्रालय भनेको खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय हो । उक्त मन्त्रालयको जम्मा बजेट ६ अर्ब ३१ करोड ८६ लाख ६ हजार रहेको छ । जसमध्ये चालू खर्च ३१ करोड २३ लाख ८१ हजार हुँदा पूँजीगत तर्फ भने ३ अर्ब २७ करोड ८ लाख ३६ हजार रुपैयाँ खर्च भएको छ । बजेटको लक्ष्य अनुसार प्रदेश सरकारले अबको पाँच हप्तामा चालू र पूँजीगत गरी १८ अर्ब २३ करोड ५२ लाख २६ हजार रुपैयाँ खर्च गर्नुपर्नेछ ।
प्रदेश सरकारको खातामा २९ अर्ब २१ करोड १३ लाख ८४ हजार ४९८ रुपैयाँ जम्मा भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयले दिएको चालू आर्थिक वर्षको जेठ २४ गतेसम्ममा उक्त रकम जम्मा भएको विवरण उपलब्ध गराएको छ । सरकारको ३९ अर्ब ८७ करोड ३१ लाख ६९ हजार रुपैयाँको अनुमानित आयमध्ये हालसम्म २९ अर्ब २१ करोड १३ लाख ८४ हजार जम्मा भएको हो । जुन रकममध्ये हालसम्म २१ अर्ब ६३ करोड ७९ लाख ४२ हजार खर्च भएर प्रदेश सरकारको बैंक खातामा झण्डै ९ अर्ब बाँकी देखिएको छ ।
फाइल तस्बिर : हाम्रोमत