विराटनगर । जग्गामा विवाद भएपछि मोरङको कानेपोखरी–४ मा निर्माणाधीन कानेपोखरी अस्पतालको निर्माण रोकिएको छ । अस्पताल भवनकोे डिपिआर भएको क्षेत्रफल व्यक्तिको नाममा देखिएपछि अस्पतालको निर्माण रोकिएको हो ।
गाउँपालिकाले २०७७ सालमा अस्पतालको डिपिआर गर्न जाल्पादेवी ग्रुपलाई दिएको थियो । १५ शøयाको अस्पताल निर्माण गर्न मूल्य अभिवृद्धि करसहित १५ लाख ८१ हजार ६९ रुपियाँ लागत अनुमान गरी बोलपत्र आह्वान गरिएको थियो । जाल्पादेवी ग्रुपले १५ लाख ५४ हजार ६४५ रुपियाँमा डिपिआरको जिम्मा पाएको गाउँपालिकाका सूचना अधिकृत गोविन्दप्रसाद फुलेलले बताए ।
डिपिआर गरिएको क्षेत्रफल १७ सय वर्गमिटर भनिएको छ । जसमध्ये २४१ वर्गमिटर जमिन अस्पतालको स्वामित्वभन्दा बाहिरको देखिएपछि अस्पताल निर्माण रोकिएको हो । अस्पताल निर्माणको ठेक्का आठ करोड ५० लाख रुपियाँमा काठमाडौँको प्रतिष्ठा केएन केडी जेभीले पाएको थियो । निर्माण कम्पनीका सञ्चालक अशोकभक्त श्रेष्ठले भने, ‘हामीले गाउँबँेसी कन्स्ट्रक्सनलाई काम गर्ने जिम्मा दिएका थियौँ । गाउँबेँसीले धोका दियो । अब हामी आफैँ काम गर्छौं तर गाउँपालिकाले साइड खाली गर्न ढिलो गर्नु हुँदैन ।’
अस्पताल सञ्चालक समितिका अध्यक्ष एवं कानेपोखरी–४ का वडाध्यक्ष रमेश राउतले भने, ‘डिपिआर भएको क्षेत्रकै जमिन अस्पतालको स्वामित्वमा नदेखिएपछि समस्या उत्पन्न भएको छ । पालिकाकै गौरवको आयोजनाका रूपमा लिइएको अस्पताल निर्माण रोकिँदा गाउँवासीलाई ठुलो क्षति पुगेको छ ।’ सरोकारवाला, राजनीतिक दलसँग बसेर पालिकाले छिटै निकास दिने उनले बताए ।
यता डिपिआर गर्ने जाल्पादेवी ग्रुपले अर्काको जमिनमा कसरी अस्पतालको नक्साङ्कन ग¥यो भन्ने विषयमा नगरपालिकाले खोजी गरी उक्त कम्पनीलाई कारबाही गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ । स्थानीय दीपक चम्लागाईंले भने, ‘गाउँपालिकाले डिपिआरको भुक्तानी किन ग¥यो ? नागरिकलाई जवाफ दिनुपर्छ ।’
– गोरखापत्रबाट साभार