लोड हुँदैछ...

मेनु

नक्कली शरणार्थी प्रकरण : ३६ प्रतिशत ब्याजमा ऋण काडेर दिएका थिए सागरलाई

नक्कली शरणार्थी प्रकरण  : ३६ प्रतिशत ब्याजमा ऋण काडेर दिएका थिए सागरलाई

विराटनगर । मोरङको पथरी शनिश्चरेका खेम (नाम परिवर्तन)को ऐलानी जग्गामा सामान्य घर छ ।  बसेका उनका बुबा आमा तिन जना छोरा छोरी सहति  ७ जनाको परिवार छ ।

दैनिक ज्याला मजदुरी गरेर आफनो जिविको चलाउने गर्छन । घरमा पालिएका बाख्रा कुखुरा उनले बिहान बेलुका हातमुख जोर्ने कमाइका स्रोत हुन् । कोभिड– १९ का कारण लकडाउन हुनुभन्दा अगाडिसम्म उनी फर्निचर सामग्री पनि बनाउँथे । घरमै फर्निचरको पसल छ । लकडाउनले व्यवसाय बन्द भएपछि खेम समस्यामा परेका थिए । त्यसैबेला उनले पहिलेदेखि नै नजिकबाट चिनेका सागर राईले अमेरिका जान सल्लाह दिए । आफुले सस्तो पैशामा लगिदिने समेत बताएका थिए सागरले

पथरी शनिश्चरे नगरपालिका– १० का वडाध्यक्ष समेत थिए सागर ।  जो नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा छन् । गत चैत्र १६ गते देखी उनी हिरासतमा छन ।

अमेरिका जान मिल्ने भए जाऊँ न त भन्ने मनस्थिति बनाएका खेमलाई सागरले शुरूमा १० लाख दिनुपर्ने बताए । तत्काल २ लाख रुपैयाँ साथीभाइसँग मागेर खेमले सागरलाई दिएका थिए । त्यसपछाडि खेमलाई थप ८ लाख जुटाउन मुस्किल प‍र्न थाल्यो । जग्गा ऐलानी भएका कारणले बेच्ने सम्भवना पनि थिएन ।

‘सागरले २ लाख तुरुन्तै ठीक पार्नुस् भनेपछि साथीभाइसँग मागेर दिइहालें । ८ लाख रुपैयाँ जोहो गर्न ससुरालीको जग्गा धितोमा राख्नुपर्‍यो,’ उनले भने, ‘न अमेरिका जान पाइयो, न त्यो जग्गा उकास्न सकेको छु ।’

आँखामा आँसु टिलपिल पार्दै उनले थपे, ‘ऋणको ब्याज तिर्न नै आफूसँग भएको १० धुर जग्गा बेच्नुप‍¥यो । यही आँसुको सहारामा दिन बिताइरहेको छु ।’

उनका ८७ वर्षीय बुवा र ७६ वर्षकी आमाको पनि आँखा नओभाएको वर्षौ दिन वितिसकेको छ ।

खेमकी श्रीमतीले छोराछोरीको स्कूल फी समेत तिर्न नसकेको गुनासो गरिन् । तनावका कारण आफू माइग्रेनको रोगी भएर औषधि खानुपरेको उनको गुनासो छ ।

‘दुःख सहन नसकेपछि खाडी भए पनि जान्छु भनेर लागेको थिएँ,’ उनले भनिन, ‘तर, मेरो स्वास्थ्य समस्यालाई देखाएर म्यानपावर कम्पनीले पठाउन मानेन ।’

पक्राउ पर्नुअघि उनीहरू सागरलाई भेटेर पटक–पटक रोएका रहेछन् । सागरले मिति उल्लेख नगरी बैंकको चेक पनि दिएका छन्, तर खातामा पैसा छैन ।

‘हामीलाई भेट्दा उसले तपाईंहरूको पैसा डुबाउँदिनँ भन्ने गरेको थियो, अहिले त पक्राउ प‍¥यो,’ खेमकी पत्नीले सुनाइन् ।सागर पक्राउ परेपछि उनीमार्फत ठगिएकाहरूको डेढ करोड रुपैयाँसम्म तिरिन्दिछौं भनेर सागरका बुवाले भनेको हल्ला उनीहरूले सुनेका छन् । त्यो कुराले थोरै आशा भने पलाएको छ । सागरका बुवाआमा अमेरिकामा बस्छन् । त्यहि आश्ववासनले उनीहरुलेकहि कतै उजुरी पनि दिएका छैन्न ।

सागरलाई पैसा बुझाएर ठगिनेमध्ये अर्का व्यक्ति हुन नवीन (नाम परिवर्तन) ।अमेरिका जाने सबै प्रक्रिया पूरा भइसक्यो भनेपछि जग्गा बन्दकी राखी ३६ प्रतिशत ब्याजमा ऋण लिएर बुझाएको उनले बताए सागर नजिकको साथी भएकाले पनि ऋण लिएर पैसा बुझाउने हिम्मत गरेको उनको भनाइ छ ।

‘पहिला २ लाखले हुन्छ भनेपछि साथीभाइसँग मागें । अमेरिका जाने भएपछि तिरिहाल्छ भनेर सहजै पैसा दिए । सागरले तीन महिनामै अमेरिका पुगिन्छ भनेको थियो । तीन महिना नपुग्दै ८ लाख ठीक पारिहाल्नुस्, अब जाने बेला भयो भनेर ताकेता गर्‍यो,’ नवीन भन्छन् ।

त्यतिबेला लिएको १० लाखको सावाँ र ब्याज गरी अहिलेसम्म १४ लाख तिरिसकेको उनको भनाइ छ ।

उनीसहित पीडितहरू कानूनी झमेलामा फसिने डरले पहिचान खुलाउन तयार छैनन् । शरणार्थी बन्न खोज्नेहरूलाई पनि कारवाही हुनुपर्छ भनेको सुन्दा मनमा चिसो पसिरहेको छ ।

सागर पहिलेदेखि नै स्थानीय युवाबीच लोकप्रिय थिए । सोही कारण केशव दुलाल (सुजाता कोइरालाका स्वकीय सचिव)ले कांग्रेस प्रवेश गराएर वडाध्यक्षको टिकट दिलाएका थिए ।

कांग्रेसमा लामो समयदेखि क्रियाशील रहे पनि केशवको भने खासै प्रभाव थिएन । उनी क्षेत्रीय सभापतिको उम्मेदवार बन्दा जम्मा १६ मत प्राप्त गरेका थिए ।सोही अधिवेशनका बेला नेताहरूलाई प्रभावित पार्न केशवले विराटनगरकै एक होटलमा ककटेल पार्टी दिएका थिए । उक्त पार्टीमा उठेको १ लाख ५० हजार रुपैयाँको बिल केशवले भुक्तानी गरेपछि कांग्रेसका नेताहरू अचम्ममा परेका थिए ।

‘सामान्य परिवारको र त्यसअघि त्यत्तिको खर्च गर्न सक्ने हैसियत नभएको केशवले उक्त बिल भुक्तानी गरेको सुन्दा नै हाम्रो मनमा चिसो पसेको थियो,’ कांग्रेस नेताहरूसँग राम्रै चिनजान रहेका खेमले भने । केशव पनि अमेरिका लैजाने धन्दामा संलग्न छन् भन्ने उनलाई थाहा थियो, तर सागरले अरू कसैसँग कुरा नगर्नु भनेकाले यसबारे कुराकानी गरेका थिएनन् ।

आफूहरूले पैसा बुझाएको केही दिनमा सागरले गाडी किनेको पनि उनी बताउँछन् ।

‘सागरले नयाँ गाडी किनेर धुपबत्ती बाल्दैछ भन्ने सुनेदेखि नै हो म बिरामी पर्न थालेको,’ खेमकी पत्नीले भनिन् ।

यी दुई त प्रतिनिधि पात्र मात्र हुन् । अमेरिका जाने प्रलोभनमा पैसा बुझाउने धेरैको यस्तै बिचल्ली भएको छ । न म पीडित हुँ भनेर भन्न सकेका छन्, न त लागेको ऋण तिर्न नै । आफ्नै गाउँघरमा कुखुरा बाख्रा पालेर जिविको जिउनेहरूसँग सागरले पैसा असुलेको खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds