नक्कली परीक्षार्थी छुटाउन सभामुख घिमिरेको सचिवालयको दबाब

विराटनगर । एसईई परीक्षामा सामेल भएका नक्कली परीक्षार्थी छुटाउन नेताहरूले दबाब दिन थालेका छन । बुधवार र बिहीवार प्रहरीले मोरङका ३ विद्यालयबाट २०१  नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिएको थियो । केराबारी गाउँपालिकामा रहेको सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना, झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैचाको जनता मावि केन्द्रबाट २० जनालाई प्रहरीले बिहीवार नियन्त्रणमा लिएको थियो ।  बुधवार सरस्वती मावि केन्द्रबाट २ जना पक्राउ परेका थिए ।

ती परीक्षार्थीहरूलाई छुटाउन सभामुख देवराज घिमिरेको सचिवालयबाट  दबाब आएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्सपेक्टर उदयशमशेर जबराले  बताए । साथै संघीय लिम्बूवान मञ्चका अध्यक्ष कुमार लिङ्देनले पनि फोन गरेर नक्कली परीक्षार्थी छुटाउन दबाब दिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका परीक्षार्थीहरू पहिचानको आन्दोलन पक्षधर रहेको र उनीहरूलाई नछाड्दा आन्दोलनमा प्रभाव पर्ने भन्दै लिङ्देनले राति अबेरसम्म पनि दबाब दिएको प्रहरी स्रोतको दाबी छ । केही नलागेपछि अन्तिममा माथिबाट फोन आउँछ भन्दै उनी प्रहरी कार्यालयबाट बाहिरिएको प्रहरी अधिकारीहरू बताउँछन् ।

 भागे कन्सल्टेन्सी सञ्चालक

नक्कली परीक्षार्थीहरू परिचालन कन्सल्टेन्सीले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

‘दैनिक ४ सयदेखि एक हजार रुपैयाँसम्म लिएर परीक्षा दिन आएको खुलेको छ,’ इन्स्पेक्टर जबराले भने, ‘धेरै कन्सल्टेन्सी धरानका छन् । परीक्षामा लेख्न आउने धेरै धरान र दमकका छन् ।’

कन्सल्टेन्सीले एक विद्यार्थीबाट ३० देखि ४० हजार रुपैयाँसम्म लिएको खुलेको छ ।

धरानका तीनवटा कन्सल्टेन्सी र उर्लाबारीको एक कन्सल्टेन्सीको संलग्नता खुलिसकेको प्रहरीले जनाएको छ । धरान पान मारीको एलिसा कन्सल्टेन्सी, धरानकै आचार्य लाइनको प्यासिफिक कन्सल्टेन्सी, धरान– १० मा रहको युनिक कन्सल्टेन्सी र मोरङको उर्लाबारीको गुड ह्विल कन्सल्टेन्सीले विद्यार्थीसँग मोटो रकम लिएर यस्तो धन्दा गर्ने गरेको खुलेको छ ।

अहिले ती चारवटै कन्सल्टेन्सीका सञ्चालक बोर्ड नै हटाएर फरार भएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

शिक्षकको पनि संलग्नता

खुलातर्फको परीक्षा केन्द्र भएका र नक्कली परीक्षार्थी पक्राउ परेका केन्द्रका अध्यक्षमाथि नै प्रहरीले अनुसन्धान थालेको छ । सरस्वती माध्यमिक विद्यालयमा दैनिक परीक्षा शुरू हुनुभन्दा एक घण्टाअगाडि नै प्रश्न पत्र परीक्षार्थीलाई दिने गरेको खुलेको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले बताएका छन् ।

‘कन्सल्टेन्सी, केन्द्राध्यक्ष तथा शिक्षकहरूको समेत संलग्नता देखिएको छ,’ एक प्रहरी अधिकृतले भने, ‘अहिलेसम्मको अनुसन्धानले धेरै तानिने देखिएको छ । परीक्षा केन्द्र नै किनबेच भएको हुनसक्ने आशंका छ ।’

पक्राउ परेका नक्कली परीक्षार्थीलाई प्रहरीले शिक्षा ऐन, २०२८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ । उनीहरूले दिएका सबै परीक्षा रद्द गरिने जिल्ला शिक्षा समन्वय इकाई मोरङले जानकारी गराएको छ । जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमका अनुसार पक्राउ परेका नक्कली परीक्षार्थीले दिएका सबै परीक्षा रद्द हुने भएको हो ।

प्रहरीका अनुसार ती नक्कली परीक्षार्थीहरूले आफूले परीक्षा दिएका व्यक्तिहरूलाई समेत नचिन्ने गरेको पाइएको छ । कल्पना लिम्बूको परीक्षा लेख्न आएकी स्वस्तिमा लिम्बूलाई बुधवार प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई नातामा काका पर्ने शरण लिम्बूले परीक्षा लेख्न लगाएका थिए । कल्पनालाई स्वस्तिमाले नचिन्ने गरेको खुलेको प्रहरीले नजनाएको छ ।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय बेलबारी, लेटाङ, उर्लाबारी, रंगेली, सिजुवा र जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान भइरहेको छ ।

शुक्रबार, २४ चैत, २०७९, साँझको ०६:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर