धरान । आफूहरुले उपभोग गरिरहेको खानेपानीको मुहान क्षेत्र शिवजट्टाबाट मेयर हर्क साम्पाङले सहमति नगरि खानेपानी लैजान लागेको भन्दै स्थानीय उपभोक्ताहरुले विरोध जनाएका छन् ।

स्थानीयको चर्को विरोध तथा दबाब पछि मेयर साम्पाङले मुहान क्षेत्र परिवर्तन गर्न सहमत भएका छन् । मेयर साम्पाङले जनश्रमदानबाट बिहिबारदेखि वडा नं १५ लाई लक्षित गरेर शिवजट्टाबाट पानी ल्याउने काम शुरु गर्न लागेका थिए । यो थाह पाएपछि स्थानीय उपभोक्ताहरु बिहानैदेखि कोशी राजमार्गसँग जोडिएको शिवजट्टा जाने बाटो शिवधारामा भेला भएका थिए ।

शिवजट्टामा निर्माण सामग्रीहरु लैजान नदिन वडा नं ४ र १४ का उपभोक्ताहरु आएर बाटो छेकेपछि केही बेर तनावग्रस्त स्थिति बनेको थियो । सुरक्षाको लागि प्रहरी पनि तैनाथ भएका थिए । उपभोक्ताहरुसँगै वडा नं १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टारई र वडा ४ का वडाअध्यक्ष धनबहादुर कुलुङ राई पनि अवरोध गर्न पुगेका थिए । मेयर साम्पाङलाई आफूहरुले शिवजट्टाबाट नभै उपभोक्ताहरुको मुहान नभएको भालुखोला क्षेत्रबाट पानी लैजान आग्रह गर्दा नमानेपछि अवरोध गर्न आउनुपरेको वडा ४ का अध्यक्ष कुलुङले बताए ।

उनले भने, ‘मेयर साबले जहाँबाट पानी लैजाने भन्नुभएको छ, त्यो क्षेत्रभन्दा मुनिबाट धेरै उपभोक्ताहरुले पानी लगेर खाइरहेका छन् । त्यसैले हामीले भालुखोलाबाट लैजानुस्, बरु हामी पनि सघाउन आउछौं भनेका थियौं, उहाँले नमानेपछि हामी यसरी आउनुपरेको हो ।’

स्थानीय उपभोक्ता र मेयर साम्पाङका समर्थकहरुबीच शिवधारा क्षेत्रमा विवाद भएपछि मेयर साम्पाङ आफै पुगेका थिए । उनलाई पनि स्थानीयले घेरा हालेपछि मेयर साम्पाङले उपभोक्ता समितिका प्रतिनिधि र वडाका जनप्रतिनिधिहरुलाई छलफलको लागि कार्यकक्षमा बोलाएका थिए ।

मेयर साम्पाङले आफू स्थलगत निरीक्षणमा जाँदा उपभोक्ताहरुले खोलाबाट पाइप हालेर पानी लगेको नदेखेपछि मात्र सेउतीको माथिल्लो क्षेत्र शिवधाराबाट पानी ल्याउने योजना शुरु गर्न लागेको बताए । उपभोक्ताहरुले भने बर्षामा खोलामा बाढी आउने भएकोले आफूहरुले पाइप भिरको जरुवा पानीमा राखेर लगिरहेको भन्दै आफुहरुसहित स्थलगत निरीक्षणमा जान आग्रह गरेका थिए ।

उपभोक्ताहरुको आग्रह पछि मेयर साम्पाङले उपभोक्ताको इन्टेक भेटिएको तल्लो क्षेत्रभन्दा माथि नजाने र भालुखोलाबाट नै पानी ल्याएर वडां १५ लाई वितरण गर्ने भनेपछि सहमति भएको थियो । साथै, मेयर साम्पाङले आफूहरुको आग्रह स्वीकार गरेपछि खुशी व्यक्त गर्दै वडा ४ र १४ का वडाअध्यक्ष साथै उपभोक्ताहरु पनि श्रमदानमा आउने प्रतिवद्धता जनाएका छन् ।

वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले भने,‘वडा नं १५ लाई पानी नदिने भन्ने थिएन । मात्र अहिले उपभोक्ताहरुले खाइरहेको मुहान क्षेत्रभन्दा माथिबाट पानी नल्याइयोस् भन्ने थियो । मेयरज्युले यो कुरामा सहमति जनाउनुभएपछि विवाद हल भयो । अब म आफै पनि श्रमदानमा आउनेछु ।’

छलफलमा यो सहमति लगत्तै मेयर साम्पाङ वडाअध्यक्ष र स्थानीय उपभोक्तासहित सेउती हुदैं भालुखोला मुहान निरीक्षणमा गएका थिए । निरीक्षण पश्चात मेयर साम्पाङले भने,‘अस्ति निरीक्षणमा आउँदा खोलाबाट पानी लगेको पाइप देखिएको थिएन । तर, बाढीले बगाउने भएकोले भिरतिर पाइप राखेर पानी लगेको रहेछ । कसैले उपभोग गरिरहेको मुहान असर पर्ने गरि लैजादैनौं, उपभोक्ताहरुले भनेजस्तै भालुखोलाबाट नै लैजान्छौं । काम शुक्रबारदेखि नै शुरु भैहाल्छ ।’

गएको बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएर मेयरमा निवार्चित साम्पाङको प्रमुख एजेण्डा नै खानेपानी थियो । पानीको चरम अभाव भोगिरहेको धरानबासीलाई आफू निवार्चित भएदेखि नै खानेपानी पर्याप्त पुर्याउन मेयर साम्पाङ जनश्रमदानबाट विभिन्न योजना अघि सारिरहेका छन् । उनले पकुवा खोलाको पानी श्रमदानबाट ल्याएका छन् भने निशाने, सर्दु र खर्दुको पानी पनि स्वास्तिका चोकमा ल्याएर वितरण गरिरहेका छन् । यस्तै, निशाने सर्दु दोभानमा गोर्खा पिस फाउण्डेशन र हर्क साम्पाङ सपोर्ट कमिटी युकेले २ लाख १० हजार लिटर क्षमताको पानी ट्यांकी निर्माण गरिरहेको छ भने ३ करोड बढी लगानीमा गोर्खा वेल्फेयर ट्रष्टले पनि खर्दुबाट पानी थप्ने योजना कार्यान्वयन गर्न लागेको छ ।