विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ समितिको पहलमा महासंघको सचिवालयमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ ।
मंगलबार महासंघको कार्यालयमा स्थापित सूचना केन्द्रको महासंघका केन्द्रीय सदस्य एवं प्रदेशका उपाध्यक्ष राजेन्द्र राउतले उद्घाटन गरे ।
प्रदेश १ का मुख्यमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका राउतले महासंघमा स्थापित सूचना केन्द्रको बोर्ड र कार्यकक्षको उद्घाटन गरेका हुन् । प्रदेश १ को प्रमुख तीनवटा नाकाबाट नेपाल प्रवेश गर्ने सबै पर्यटकलाई प्रमुख गन्तव्यहरुको बारेमा जानकारी दिने, होटल र ट्राभल्सलगायतका सेवा प्रदायक निकायको सूचना विवरण अद्यावधिक राख्ने र पर्यटकहरुकै जानकारी राख्ने काम सूचना केन्द्रबाट हुने जनाइएको छ ।
राउतले अहिले इलामको पशुपतिनगर र झापाको विर्तामोडमा सूचना केन्द्र स्थापना भएपनि विराटनगरको रानी नाकामा पर्यटन डेस्क स्थापना नभएकोले त्यो काम पनि सूचना केन्द्रमार्फत नै गरिने बताए । प्रदेश १ मा धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको भन्दै उनले पर्यटन प्रबद्र्धनको लागि १६ वटा आन्तरिक विमानस्थल सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
पर्यटकहरुलाई आवश्यक पर्ने यातायात सेवाको पनि उपयुक्त व्यवस्था नभएकोले तीनै तहका सरकारले पूर्वाधारमा सहयोग गर्नुपर्ने राउतको भनाइ छ । महासंघको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गत सूचना केन्द्र स्थापना गरिएको राउतले जानकारी दिए ।
महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले विराटनगर विमानस्थलमा पनि इमिग्रेशनको व्यवस्था गर्न सके पर्यटकहरुलाई सहज हुने बताए । पर्यटन क्षेत्रलाई राज्यले ठुलो आर्थिक स्रोतका रुपमा उपयोग गर्न नसकेको उनको भनाइ थियो ।
पर्यटन दिवसको अवसर पारेर नेपाल सरकार, प्रदेश सरकार र पर्यटन बोर्डको सहयोगमा पर्यटन सूचना केन्द्रको स्थापना गरिएको महासंघका पर्यटन समितिका संयोजक भविषकुमार श्रेष्ठले जानकारी दिए । १४ वटै जिल्लाका पर्यटकीय स्थलहरुको जानकारी, पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्था, सहासिक पर्यटन सम्वद्ध कम्पनीहरु, टुर गाइड, ट्राभल्स एण्ड टुर्स, होटललगायतका जानकारीहरु सूचना केन्द्रमा रहने उनको भनाइ छ ।
सूचना केन्द्रमा पर्यटनसम्बन्धि जानकारी दिनसक्ने दक्ष जनशक्तिको लागि प्रदेश सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयलाई आग्रह गरिएको महासंघले जनाएको छ ।