विराटनगर । कुनैबेला सुनसरी, मोरङ, झापाको मुख्य नगदेबालीभित्र पर्ने जुट खेती निरन्तर मासिँदै गएको छ । झन्झटिलो खेती प्रणाली र बजार अभावको सकसले जुट खेती छाड्ने त भइगए, जसोतसो खेती गरिरहेका किसान पनि यतिबेला असन्तुष्ट छन् ।

अघिल्ला वर्षहरुमा जुट (सनपाट) खेतीबाट मनग्गै आम्दानी गर्ने सुनसरीका अधिकांश किसान यतिबेला भने उत्पादनबाट सन्तुष्ट छैनन् । मुख्य सिजनमा सधैं मल अभावको समस्या आइपर्ने र त्यसकै कारण उत्पादन निरन्तर घट्ने समस्याले किसानलाई सास्ती दिएको छ ।

मलको अभावमा उत्पादनमा कमी आएसँगै उनीहरुमा निराशा बढ्दो छ । समयमै मल नपाएको पीडा झेलेका किसानहरु उत्पादन समेत घट्न पुग्दा थप चिन्तामा छन । उत्पादन भएको जुटको मूल्यमा पनि गिरावट आएपछि आफूहरुको रुचि समेत सो खेतीमा घटदै गएको किसानहरुको भनाइ छ ।

भारतबाट महँगो मूल्य तिरेर मल खरिद गर्दा सो खेतीमा लागत बढन गएको तर आम्दानी कम हुने गरेको उनीहरुको पीडा छ । सुनसरीको भोक्राहाका खुशीलाल उराँव भन्छन्, ‘सरकारले मल दिनै सक्दैन । दिन्छु भन्छ तर ६ महिनामा एकपल्ट दियो भने त्यो पनि सबैले पाउनै मुस्किल छ । अनि कसरी हुन्छ । मर्कामा पर्ने त जसरी पनि हामी किसान नै हौं ।’

खुशीलाल जस्तै रामकृपाल मेहताको समेत सरकारप्रति चरम असन्तुष्टि छ । जुट खेती गर्दै आएका उनी कामदार महँगो मात्र नभई मलखाद नेपालमा नपाउँदाको पीडा सुनाउँछन । नेपालमा मल पाइहाले डिलरवालाले ठूलाबडालाई बेच्ने गरेको उनको गुनासो छ ।

रामकृपाल भन्छन्, ‘पेशा छोड्न अन्य विकल्प छैन । भारतबाट महँगो मूल्य तिरेर पर्याप्त मल हाल्न समेत गाह्रो छ । जसको प्रभाव उत्पादनमा कमी स्वभाविक हो। तर पनि बाध्य छौं । जसले खर्च धान्नै धौ–धौ छ ।’ विगतका वर्षको दाँजोमा जुट खेतीमा आकर्षण कम हुँदै गए पनि केही किसान भने जसोतसो पेशा धानी रहेका देखिन्छन् । लागत मूल्य बढ्दै जाँदा आम्दानी घटेर निराश देखिएपनि किसानहरुमा सरकारले मलखादको सहजता दिलाओस् भन्ने चाहना भने ज्यूँकात्यूँ छ ।

जुट खेती गर्ने किसानले भोग्ने समस्या उन्नत र राम्रो बीऊ अभावबाटै सुरु हुन्छ । ‘हामीकहाँ राम्रो बीऊको उपलब्धता नै गाह्रो छ’ रामकृपाल भन्छन्, ‘त्यसपछि गोडमेलमा हुने खर्च छँदैछ । सबैभन्दा ठूलो समस्या चाहिने बेलामा कहिल्यै मल पाइन्न ।’ समयमा मल नहाले बालीले पौष्टिक तत्व नपाउने र फसल राम्रो नआउने समस्या हुने किसान बताउँछन् ।