धनकुटा । २०२८ सालमा बेलायतीले एभोकाडो नेपाल भित्र्याएका हुन् । एभोकाडो देशभर फैलाउन शिव उदास, भरत जोशी, गोपाल वाग्ले, डा. दामोदर वाग्ले, भरत गुरागाईंलगायतका धनकुटे लागिपरेका छन् ।
धनकुटा नगरपालिकाले २०७५ असारमा नगरलाई एभोकाडोको राजधानी घोषणा गरी व्यावसायिक खेतीलाई प्रोत्साहन गरेको छ । नगरपालिकाले व्यावसायिक एभोकाडो खेतीलाई प्रोत्साहन गर्न आधाररेखा सर्वेक्षण पनि ग¥यो । त्यसपछि एभोकाडो राजधानी घोषणा, एभोकाडोको प्रतिरूप स्थापना, महोत्सव आयोजना र नर्सरी सुधार कार्यक्रम लगायतका काम गरेको छ ।
कुनै समय सुन्तलाका लागि प्रख्यात धनकुटा अहिले एभोकाडोको राजधानीको रूपमा परिचित छ । धनकुटामा १२ हजार ९९ रोपनीमा एभोकाडो खेती भइरहेको छ । यसबाट वार्षिक २ लाख ३९ हजार ४१८ केजी एभोकाडो उत्पादन हुने गरेको छ । यस क्षेत्रमा एभोकाडो खेती गर्नेको संख्या बढ्दो छ ।
बजारमा एभोकाडो तीनदेखि साढे तीन सयको प्रतिकिलो पर्ने गरेको छ । बजारको समस्या नभएकाले एभोकाडो खेतीमा कृषक उल्लेख्य सहभागी हुन थालेका छन् । धनकुटा नगरपालिकाले २०७५ असार ८ गते एभोकाडो राजधानी घोषणा गर्दै मेयर कृषि पर्यटन कार्यक्रममार्फत एभोकाडोको प्रतिमा स्थापना गर्ने, एभोकाडोको नर्सरीमा सुधार गर्ने, एभोकाडोमा कलमी प्रविधि, एभोकाडो महोत्सव सञ्चालन र एभोकाडोको गणना जस्ता काम गरिरहेको छ ।
त्यसपछि २०७५ सालको सर्वेक्षणमा १ हजार ९६३ परिवार एभोकाडो खेतीमा संलग्न थिए । २०७८ मा ४ हजार ९२६ परिवार एभोकाडोमा संलग्न भएको नगरपालिकाको तथ्यांकमा उल्लेख छ । यसैगरी २०७५ सालमा ४४० रोपनीमा एभोकाडो खेती भइरहेकोमा हाल १२ हजार ९९ रोपनीमा पुगेको छ । एभोकाडो उत्पादनमा पनि २०७५ मा ७७ हजार ७५० किलोग्राम भएकोमा हाल २ लाख ३९ हजार ४१८ किलोग्राम पुगेको छ । धनकुटा नगरपालिकामा भित्रिने एभोकाडोको मूल्यमा भारी मात्रामा वृद्धि भएको नगरप्रमुख चिन्तन तामाङले जानकारी दिए ।
यस्तै एभोकाडो नर्सरी गर्ने संख्या पनि बढेको छ । २०७५ मा ५ वटा व्यावसायिक एभोकाडो नर्सरी भएकोमा २०७८ मा आइपुग्दा १३७ वटा पुगेका छन् । वर्तमान परिस्थितिमा किसानलाई बजारीकरणको समस्या नभएका कारणले एभोकाडोबाट राम्रो आम्दानी गरिरहेका छन्। व्यापारी नै किसानका घरदैलो तथा फर्ममा एभोकाडो खरिद गर्न पुग्ने गरेका छन् ।
त्यस्तै एभोकाडो सजिलैसँग रोप्न सकिने कारण कृषकहरू एभोकाडोको खेतीमा तानिएको अभियन्ता राईले बताए । एभोकाडो खेती गर्दा क्षेत्रफल भने बढी आवश्यक पर्छ । एक रोपनीमा करिब ६ वटासम्म एभोकाडो रोप्न सकिने कृषि अभियन्ता जीवन राईले बताए। नेपालमा हालसम्म ‘ह्यास’, ‘टोपाटोपा’, ‘इथिन्जर’, ‘ऋथ’, ‘फुक्ड’ प्रजातिका एभोकाडो सूचीकृत भएको पनि उनले बताए ।
पछिल्लो केही वर्षदेखि फल अत्यधिक झर्ने, झुसिलकिराले बोट नै नांगो हुने गरी खाइदिने र फलमा समेत स–साना किराले असर पु¥याएको किसान बताउँछन् । ‘यस्तै फल झर्ने अर्को प्रमुख समस्या छ, खेतीमा जति आकर्षण बढ्दो छ, उति रोगको समस्या बढ्दै छ, किसान ज्योतिराम पोखरेलले भने ‘कृषकले प्राविधिक सहयोग नपाउँदा क्षति बढेको छ ।’ किसानको तहमा पुग्ने प्राविधिक जनशक्ति नहुँदा लगानी डुब्ने चिन्ता रहेको पोखरेल बताउँछन् । किराका लागि आफ्नै ढंगले विषादीको प्रयोग गर्ने गरेको उनले बताए ।
कृषिविज्ञ जीवनकुमार राईले खाद्य तत्वको अभावले अत्यधिक फल झर्ने समस्या रहेको बताए । रोग किराको मात्र समस्या नभएर एभोकाडोको जात छुट्याउन नसक्दा पनि चुनौती थपिएको उनको तर्क छ । ‘एभोकाडोको जात नै अत्यधिक छ’, उनले भने, ‘जात छुट्याएर सोहीअनुसार भूगोलमा रोप्ने निक्र्यौल गरिनुपर्नेमा त्यसो हुन सकेको छैन ।’

