विराटगनर । चार वर्षअघि दैनिक ४० हजार लिटर दूध संकलन गरेर विराटनगर दुग्ध वितरण आयोजनाले दुग्धजन्य उत्पादनहरु बजारमा पुर्‍याउँदै आएको थियो । कोरोना महामारी सुरुभएपछि किसानले उत्पादन गरेको दूध किन्ने एकमात्र संस्था बन्न पुगेको दुग्ध विकास संस्थान(डिडिसी)को विराटनगर आयोजनाले दैनिक १ लाख लिटर दूध खरिद गरेको थियो ।
दैनिक १ लाख लिटरसम्म दूध खरिद गरेर त्यसको बजार व्यवस्थापन गर्न समस्या भएपछि प्रदेश सरकारले पाउडर प्लान्टलाई २४ सै घण्टा सञ्चालन गर्न सक्ने गरी स्तरोन्नति गर्न र नयाँ आइसबैंक स्थापना गर्न ५ करोड रुपैयाँ अनुदान उपलब्ध गरायो । दूध संकलन बढ्ने अनुमान गरेर पाउडर प्लान्टको स्तरोन्नति गरेको विराटनगर आयोजना आजभोलि बजारको न्यूनतम मागसमेत पुरा गर्न नसक्ने दुरुह अवस्थामा पुगेको छ ।

डिडिसी बजारको माग पुरा गर्न नसक्ने अवस्थामा मात्र छैन लामो समयपछि पनिरको उत्पादन बन्द गरेको छ । बजारमा तीन महिनादेखि घ्यू पठाउन सकेको छैन ।

दूध उत्पादनमा आत्मनिर्भर प्रदेश भएकै कारण बढी भएको दूधबाट पाउडर उत्पादन गर्ने पाउडर प्लान्ट विराटनगर आयोजनामै छ । तर, पाउडर प्लान्ट सञ्चालन नभएको पनि पाँच महिना भइसकेको छ । ‘हामीसँगै काँचो दूधकै अभाव छ अनि पाउडर प्लान्ट कसरी चलाउन सकिन्छ र,’ विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख परमेश्वर चौधरीले भने ‘पाउडर प्लान्ट चलाउन चाहिने दूध हामीसँग छैन त्यसैले पाँच महिनादेखि प्लान्ट चलाएका छैनौं ।’ दुई वर्ष अघिसम्म पाउडर दूध र बटर स्टक गर्ने ठाउँको अभाव व्यहोरेको डिडिसीले अहिले निजी उद्योगबाट पाउडर र बटर खरिद गरेर आफ्नो बजार धानिरहेको छ ।

दुग्ध वितरण आयोजना विराटनगरले अहिले दैनिक मुस्किलले १० हजार लिटर दूध संकलन गरिरहेको छ । गतवर्षको यसै अवधिमा दैनिक संकलन २२ हजार लिटर थियो । आयोजनाको दूध संकलन क्षमता विगत केही वर्षदेखि हरेक वर्ष ५० प्रतिशतका दरले घट्दै गएको छ । डिडिसीले सबैभन्दा धेरै दूध संकलन गर्दै आएको इलामबाटै अहिले दूध ल्याउन नसक्दा विराटनगर आयोजना समस्यामा छ । ‘इलामका किसानहरु दूध बेच्नु भन्दा छुर्पी बनाएर बेच्न आकर्षित छन्, त्यसैले हामीले आवश्यकताअनुसार दूध पाइरहेका छैनौं,’ आयोजना प्रमुख चौधरीले भने ‘छुर्पी उत्पादन बढ्दा हामीलाई पनि त्यसको असर परेको छ ।’ तीन वर्ष अघिसम्म दैनिक १२ हजार लिटर दूध संकलन हुने इलामबाट अहिले दैनिक ३ हजार लिटर संकलन हुने गरेको छ ।

किसानले छुर्पी उत्पादन गरेका कारणले मात्र डिडिसीले दूध नपाएको भने होइन । किसानबाट किनेको दूधको भुक्तानी समयमा नगरेका कारण किसानहरु डिडिसीलाई दूध बेच्न अनिच्छुक छन् । ‘किसानहरुका माझमा दुग्ध विकास संस्थान ‘स्लो पे कम्पनी’ को रुपमा चित्रित भएको छ,’ दुग्ध उत्पादक किसान मेघराज आचार्यले भने ‘दूध बेचेर जीवन चलाउने किसानहरुले तीनचार महिनासम्म दूधको पैसा नपाएपछि कसरी दूध दिइरहन सक्छन् ।’

दुग्ध वितरण आयोजनाले असार १ गतेदेखि किसानबाट किनेको दूधको भुक्तानी दिएको छैन । भदौ १५ यता भुक्तानी दिने अवस्था पनि नरहेको आयोजनाले जनाएको छ । भुक्तानी दिन नसकेपछि किसानले नै आयोजनालाई दूध बेच्न छोडेका हुन् ।
प्रदेश १ मा दूधको उत्पादन भने नघटेको जानकारहरुले बताएका छन् । डिडिसीको संकलन घटेपनि बजारमा दूधको अभाव छैन । निजी डेरीहरुले बजारको माग पुरा गरिरहेका छन् । निजी डेरी उद्योगले सहकारीहरुलाई प्रतिलिटर ५ रुपैयाँदेखि १० रुपैयाँसम्म बढी मूल्य तिरेर दूध किनिरहेको छ । ‘निजी उद्योगहरुले लिटरमा ५ देखि १० रुपैयाँसम्म बढी तिरेर दूध किनिरहेका छन् । निजीले सहकारीलाई अग्रिम भुक्तानी दिइरहेका छन् तर हामीले दुई महिनादेखि उधारो चलाइरहेका छौं, दूध थोरै संकलन हुनुमा यो पनि एउटा कारण हो,’ प्रमुख चौधरीले भने ।

डिडिसीले दूधको बजार विस्तार गर्न ह्वाइट मिल्क उत्पादन गरेर नेपाली सेनालाई बिक्री गर्न थालेको थियो । बजारमा चिसो पेय पदार्थको विकल्पमा फ्रेस मिल्कको सप्लाई बढाएको थियो, रसभरी, लालमोहन र पेडा उत्पादन गरेर उत्पादन विविधीकरणमा गएको थियो । तर अहिले ती सबै उत्पादन बन्द भएका छन् । विराटनगरबाट दैनिक ५०० किलो पनिर बिक्री हुने गरेकोमा डिडिसीले ३ महिनादेखि पनिर उत्पादन गरेको छैन ।

विराटनगरमा मात्र होइन डिडिसीका सबै आयोजना यतिबेला दूधको चरम अभाव झेलिरहेको छ । सबैभन्दा धेरै अभाव काठमाण्डौको बालाजु आयोजनाले व्यहोरी रहेको छ । काठमाण्डौको अभाव पुरा गर्न विराटनगरबाट हरेक ३ दिनमा एक ट्याङ्कर (१२ हजार लिटर) दूध पठाइरहेको छ । ‘हाम्रा सबै आयोजनाले यतिबेला अभाव झेलिरहेका छन्, दूधको सिजन सुरु भएपछि केही सजह हुने अपेक्षा छ,’ चौधरीले भने । भदौ दोस्रो सातादेखि पुस–माघसम्म दूध उत्पादन बढी हुने भएकोले यस अवधिलाई दूधको सिजन मान्ने गरिएको छ ।